काठमाडौं, असार ३० । संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमै बिभाजन भएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेसँगै सो पार्टी औपचारिक रुपमा बिभाजन भएको हो ।
अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर दिँदै मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकले यादवसँग सँगै जान नसकिने निश्कर्षसहित नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित केन्द्रीय कार्यकारणी सदस्य लगायत अधिकांश नेताले विपरीत विचार भएका नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नेमा एकमत देखिएका थिए । बैठकले नयाँ पार्टी खोल्न भट्टराईलाई नै म्यान्डेड दिइएको छ ।
उहाँसँगै म्याडेन्ड पाउनेहरुमा प्रशान्त सिंह, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, रमेश यादव, महिन्द्र यादव, हिसिला यमी, र केही समानुपातिक सांसदहरु समेत रहनुभएको छ । २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ती पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो ।
समाजवादी पार्टी २०७७ वैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । समानुपातिक नेतृत्व प्रणाली, पार्टी विधान शैलीमा नचल्नु, अध्यक्षको एकलौटे कार्यशैली लगायतका मुद्दामा जसपामा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले उत्कर्ष रुप लिएपछि बिभाजनमा पुगेको हो ।













प्रतिक्रिया दिनुहोस्