काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भन्दै सरकारलाई कडा प्रश्न गरेको छ ।
प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोज्नुभएको हो ।
‘वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?’ बुधवार मात्रै बरिष्ठ अधिबक्ताको उपाधी पाउनु भएका एमाले सांसद पोखरेलले प्रश्न गर्नुभयो । उहाँले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ ? भन्दै थप जिज्ञासा राख्नुभयो ।
‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तिमा ४÷५ बर्ष छ,’ पोखरेलले भन्नुभयो, ‘कति पनि हुन्न, विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ बर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।
नयाँ विधेयकमाथि संसदमा छलफल सुरु भएको छ । सरकार चोर बाटोबाट बिवाह गरेर आएकै दिन नागरिकता दिने राष्ट्रघाती कममा लागेको एमालेको आशंका छ ।













प्रतिक्रिया दिनुहोस्