जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १४:३६

भारतले १६ रूपैयाँ घटाएर पठायो पेट्रोलको मूल्य, देउवा सरकारले के गर्ला ?


काठमाडौं, साउन १ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य सूची घटाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०१ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २२ डलर कम भएको छ । यही मूल्यसूचीअनुसार आइओसीले शनिबार नेपाललाई नयाँ मूल्य पठाएको छ ।

नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको छ ।भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा घटाउनेबारे भने आयल निगमले कुनै योजना बनाएको छैन । निगमका प्रवक्ता विनितमणि उपाध्याय निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको बताउनु हुन्छ ।

प्रवक्ता उपाध्यायका अनुसार हाल निगमले आइओसीलाई ३० अर्ब रूपैयाँ तिर्न बाँकी छ । यही कारण शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निगमलाई सात अर्ब रूपैयाँ ऋण दिने निर्णय गरेको छ । योसँगै सरकारले केही समयअघि पेट्रोलियम पदार्थमा हटाएको पूर्वाधार करबापतको ५९ करोड रूपैयाँ पनि निगमले फिर्ता पाएको छ ।

सरकारको निर्णयसँगै निगमले आन्तरिक राजस्व कार्यालयबाट साढे तीन अर्ब रूपैयाँ भ्याट फिर्ता पाएको छ । सरकारले दिने ऋणसहित सबै रकम जोड्दा निगमले ११ अर्ब ९ करोड रूपैयाँ पाउने भएको छ । आइओसीलाई ३० अर्ब तिर्नुपर्नेमा अब बाँकी करिब १९ अर्ब रूपैयाँ अझै जुट्न नसकेको निगमको दावी छ ।

अहिले मूल्य घटेर आउँदा पनि १५ दिनमा दुई अर्ब १६ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ ।