जनता टाइम्स

७ श्रावण २०७९, शनिबार १७:११

७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय


बैतडी, ७ असार । बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ बर्षको हुनुभयो । उहाँ अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहनुभएको भेटिनुहुन्छ । भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्नुहुन्छ । उहाँले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाउनुभयो । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उहाँले बताउनुभयो ।

उहाँ एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्नुहुन्छ । माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उहाँले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गर्नुभएको हो । भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौंसम्मका सार्वजनिकस्थल तथा घरमा रहेको उहाँका छोरा नरेन्द्रले बताउनुभयो । उहाँले भन्नुभयो,‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ ।

उहाँले बैतडीदेखि काठमाडौंसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ । उहाँले कोर्न खाजेको चित्र एकपटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरुस्कृत समेत हुनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’ भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाउनुभएको छैन ।

उहाँले कुनै चित्रहरूको मूल्य राख्ने गर्नुभएको छैन । कसैले स्व इच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ । गाउँठाउँका कसैले पेन्टिङ्गका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाउनुभयो । आफुसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिनुहुन्छ । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उहाँको भनाइ छ ।