जनता टाइम्स

८ श्रावण २०७९, आईतवार २०:२३

कांग्रेसलाई धम्क्याउन प्रचण्ड-माधवले बनाए यस्तो रणनीति


काठमाडौं, साउन ८ । निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एक अर्कालाई ’साइज’ मा ल्याउने प्रयत्न अघि बढाएका छन । नेपाली कांग्रेसको नेतृत्वमा रहेका गठबन्धन दलहरुले नेकपा एमालेलाई देखाएर आफसमा धम्की दिँदै आफ्नो शक्ति बढाउने खेल अघि बढाएका हुन ।

यही खेलअनुसार उनीहरु गठबन्धनमा आफ्नो दाउपेच चलाउन लागेका छन । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन र उनीहरुले पनि आफूहरुलाई ’सम्मानजनक’ सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी मात्र दिएका छैनन, त्यसका लागि कसरत गरेको बैठकका दृष्यहरु देखाइरहेका छन ।

गत स्थानीय तहको निर्वाचनको मत परिणाममा सन्तोष व्यक्त गरेको कांग्रेसले केन्द्रीय समिति बैठकले गरेको निर्णयमा भनिएको छ, ‘बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनबाट स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्वोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

त्यस्तै कांग्रेस केन्द्रीय समितिको अर्को निर्णयमा भनिएको छ, ‘यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँचवर्ष स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’

कांग्रेसको यो निर्णयसँगै बैठकमा गृहमन्त्री बालकृष्ण खाणमार्फत एक्ला एक्लै लड्दा नेकपा माओवादी र समाजवादीको अत्यन्तै न्यून स्थानमा सीट आकलन गरिएको सरकारी रिपोर्ट पेस गरिएको तथ्यांक आएपछि अन्य दल मर्माहत बनेका छन । माधव नेपाल नेतृत्वको एकीकृत नेकपा समाजवादीले १ र माओवादी केन्द्रले ७ वा ८ स्थानमा मात्र जित निकाल्न सक्ने भन्दै डाटा प्रस्तुत गरेर कांग्रसले ती दलहरुको हैसियत जनतामा उजागर गरेको छ । यो कुराप्रति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक रुपमै असन्तुष्टि पोख्नुभएको छ ।

सरकारी डाटा भन्दै समाचारहरु सार्वजनिक भएपछि एक कार्यक्रममा नेपालले सीट संख्यालाई अत्यन्त कम देखाएर आफूहरुको मानमर्दन गर्न खोजेको बताउनु भयो । कांग्रेसले सहयात्री दलहरुलाई कस्दै आफूलाई बलियो शक्तिको रुपमा देखाउने प्रयत्न गरिरहँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतले सत्ता गठबन्धनभित्रको अर्को गठबन्धनको तयारी गरेको सन्देश कांग्रेसलाई दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता वा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहको बताउनु भएको छ । त्यसका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच केही चरणमा छलफल भइरहेको छ । तर यसबारे औपचारिक टुंगो लाग्न बाँकी रहेको नेताहरुको भनाइ छ । सोही समुहले नेकपा बिभाजित गरेको थियो ।

’बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ’ शनिबार जनकपुर पुगेका प्रचण्डले भन्नुभयो, ’त्यसमा वामदेवजी पनि मिसिनुभएको छ । औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन ।’ त्यस्तो वामपन्थी गठबन्धन र मोर्चाबन्दी गरेर कांग्रेसलाई धम्क्याउने योजनामा प्रचण्ड रहनुभएको छ ।