जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १४:१४

देउवा सरकारप्रति आक्रोशित बने योगेश भट्टराई


काठमाडौं, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण कामलाई लिएर एमाले सचिव योगेश भट्टराई आक्रोशित बन्नुभएको छ ।

नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुखसमेत रहनुभएका सांसद भट्टराईले आज संसद बैठकमा बोल्दै नेपाल सरकार जनस्वास्थ्यका विषयमा गम्भीर नबनेको भन्दै आक्रोश पोख्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा भट्टराईले २०२२ को मेमा बेलायतमा देखिएको मंकिपक्स अमेरिका, यूरोप, अफ्रिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगिसक्दा सरकारले कुनै ध्यान नदिएको तथ्य औंल्याउनु भयो ।

‘विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसक्यो,’ भट्टराईले भन्नुभयो, ‘जुन खालको लक्षण देखिँदैछ, त्यसले हायलकायल बनाइरहेको देखिन्छ । दुर्भाग्यवस नेपाल सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन । सरकार सुतेको छ । खुल्ला सिमाना छ, हामी यसबाट टाढा छैनौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।’

यस्तै राजधानीमा फैलिएको हैजाका विषयमा पनि सांसद भट्टराईले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । ‘बिहानसम्मको डाटामा काठमाडौं उपत्यकामा ३४ जना हैजाका केस भेटिएका छन् । हैजा महामारी हो, विश्व स्वास्थ्य संगठनले एकजना मात्रै देखिएपनि स्थानीय महामारी भनेको छ । ३४ देखिनु भनेको समुदायमा फैलिएको पुष्टि हुन्छ,’ भट्टराईले भन्नुभयो ।