जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार १३:५६

काठमाडौंमा एडिनोभाइरस फैलिएको ठहर, के हो एडिनोभाइरस ?


काठमाडौं । काठमाडौं उपत्यका लगायतमा एडिनोभाइरस फैलिएको पुष्टि भएको छ । विद्यालय जाने उनेरका धेरैजसो बालबालिकामा सिटामोल खाँदा पनि नघटने उच्च ज्वरो, रुघाखोकीले प्रभावित भएपछि परिक्षण गर्दा एडिनोभाइरस् फैलिएको ठहर भएको हो ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार उक्त स्वास्थ्य संस्थाबाट सङ्कलन गरी पठाइएका १३ मध्ये १२ बटा नमुनामा एडिनोभाइरस पुष्टि भएको छ। यो भाइरुसबाट जोगिन कोरोना भाइरसबाट जोगिन सावधानी अपनाएजस्तै सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

के हो एडिनोभाइरस ?
विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा संक्रामक विषाणु हो। त्यसले रुघाजस्तो समस्या उत्पन्न गरारउँछ । यो जुनसुकै उमेर समूहका बालबालिकामा लाग्न सक्ने उनीहरूको भनाइ छ। तर प्राय ः शिशु र कम उमेरका बालबालिकालाई यसले सताउँछ।

कतिपय शोधहरूले १० वर्षमुनि प्रत्येक बालबालिकालाई कम्तीमा एक पटक यो भाइरसको सङ्क्रमण भएको हुन सक्ने देखाएका छन् । एडिनोभाइरसका विभिन्न प्रकार छन्।

त्यसैले एक पटक संक्रमण हुँदा विकसित प्रतिरोध क्षमताले अर्को खालको एडिनोभाइरसले सङ्क्रमण गर्दा काम नगर्न सक्ने बताइन्छ। नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार यो ‘धेरै कडा’ भाइरस होइन ।

तर प्रतिरोध कमजोर भएका बालबालिकालाई यसको असरले निमोनिया, मुटुको समस्यालगायतका अन्य जोखिम निम्त्याउन सक्छ। डा. राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ ।

ूयसका अधिकांश लक्षणहरू कोरोनाभाइरससँग मिल्दाजुल्दा छन् । तर यसमा अरूभन्दा फरक लक्षण भनेको बालबालिकाको आँखा पाक्ने हो,’ उहाँले भन्नुभयो । यस्तो संक्रमण भएमा ज्वरो आएको तीनदेखि पाँच(छ दिनमा ज्वरो निको हुन्छ।

त्यस्तै रुघाखोकी आठदेखि १० दिनमा र आँखा पाक्ने १० दिनजतिमा निको हुन्छ। ‘यो रुघाखोकीभन्दा कडा तर इन्फ्लूएन्जाभन्दा कमजोर खालको भाइरस हो’ उहाँले भन्नुभयो । कतिपयमा निमोनिया हुने र नाक तथा कान पाक्ने पनि हुने गर्छ।

भाइरस सरेको दुई–तीन दिनदेखि एक सातासम्मका लक्षणहरू देखिन थाल्ने चिकित्सकहरूको भनाइ छ। तर यसको मृत्युदर निकै कम भएकाले धेरै डराउनु नपर्ने डा. राईले बताउनुहुन्छ ।

कस्तो सावधानी अपनाउने ?
चिकित्सकहरूका भनाइमा ‘कोभिडबाट जोगिन’ अवलम्बन गरिएका जस्तै सुरक्षात्मक उपायले एडिनोभाइरसको सङ्क्रमण हुनबाट जोगाउन सक्छ। डा. बसौला भन्नुहुन्छ , ‘बच्नका लागि रोग लागेकालाई छुट्टै राख्नुपर्छ। मास्क लगाउने र सामाजिक दूरी कामय गर्नुपर्छ।’

‘कोभिडका लागि जे सावधानी अपनाइएको थियो त्यो सावधानी अपनाइएमा हामी बालबालिकालाई यो संक्रमणबाट बचाउन सक्छौँ।’ नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. राईका भनाइमा यो भाइरसबाट वयस्कहरूमा पनि आँखा पाक्ने समस्या हुन सक्छ।

संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो , ‘यो पनि कोरोनाभाइरसजस्तै श्वासप्रश्वासका माध्यमबाट, थुकको छिटाबाट सर्ने गर्छ। त्यसैले कोभिडका लागि अपनाएका सावधानी जारी राख्नु उचित हुन्छ।

यस्तो सङ्क्रमण भएमा बालबालिकालाई झोल कुराहरू खुवाउने तथा ज्वरो कम गर्ने औषधि दिनुपर्ने उनले बताए।