जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार १५:३५

अंगोलामा भेटियो ३ सय वर्षयताकै सबैभन्दा ठूलो गुलाबी हिरा


काठमाडौं (एजेन्सी) । अंगोलाको लुलोस्थित हिरा खानीमा ३०० वर्षयताकै सबैभन्दा ठूलो गुलाबी हिरा फेला परेको छ । ३४ ग्राम तौलको उक्त हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ ।

१७० क्यारेटको ‘टाइप २ ए’ हिराको मूल्य करोडौं पर्ने बताइएको छ । लुलोस्थित हिरा खानीमा भेटिएको यो पाँचौं ठूलो हिरा हो । अंगोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले उक्त खान सञ्चालन गरिरहेका छन् । यसअघि भेटिएको यस्तै प्रकृतिको हिरा ‘पिंक स्टार’ हङकङमा भएको लिलामीमा करिब ७ करोड १२ लाख अमेरिकी डलरमा बिक्री भएको थियो ।

अहिलेसम्मको सबैभन्दा ठूलो गुलाबी हिरा ‘दरिया-ए-नुर’ इरानको राष्ट्रिय ढुकुटीमा रहेको छ । भारतमा फेला परेको उक्त हिरालाई विज्ञहरुले त्योभन्दा ठूलो हिराबाट काटिएको अनुमान गर्छन् ।

हालसम्म फेला परेको सबैभन्दा ठूलो हिरा भने ‘कुलियन’ हो । ३ हजार १०७ क्यारेटको यो हिरा सन् १९०५ मा दक्षिण अफ्रिकाको खानीमा फेला परेको थियो । यसलाई पछि १०५ वटा टुक्रामा काटिएको थियो । जसमध्ये सबैभन्दा ठूलो कुलियन-१ बेलायती मुकुटमा जडित छ ।