जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार ०८:४६

बिहे गर्न लाग्दा हत्या गरेर बाबु आमालेनै जलाए छोरीको शव


वीरगन्ज, साउन १३ । पर्सा प्रहरीले जंगलमा एक युवतीको शव जलाएको अवस्थामा फेला पारेको छ। पर्साको जिराभवानी गाउँपालिका १, भवानीपुरका खेमराज दासकी छोरी २० वर्षीया सीमा कुमारीको शव गाउँ नजिकैको जंगलमा जलाएको अवस्थामा प्रहरीले बिहीबार फेला पारेको हो।

प्रहरीले मृतककी आमालाई नियन्त्रणमा लिएको छ। उनका बुबा खेमराजसहित परिवारका अन्य सदस्य फरार भएका छन्। माँ जगदम्बा सामुदायिक वनमा परिवारका सदस्यले बुधबार राति युवतीलाई जलाएको सूचना बिहीबार बिहान प्रहरीलाई गाउँलेले दिएपछि प्रहरी घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहलाद कार्कीले बताउनु भयो।

त्यही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली शव जलाएको स्थानमा पुगेको थियो। घटनास्थलबाट जलिसकेको शवका अवशेषहरू संकलन गरी पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

मृतककी आमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूको खोजी भइरहेको डिएसपी कार्कीले बताउनुभयो। प्रहरीका अनुसार मृतक युवतीका छिमेकीका अनुसार सीमा र गाउँकै यादव थरका एक युवकबीच केही समयदेखि प्रेम सम्बन्ध थियो। एक हप्ता पहिले दुवै बिहे गर्नका लागि घर छाडेर भागेका थिए। त्यसपछि युवतीका अभिभावकले सम्झाइबुझाइ गरी घर फर्काएका थिए।

घरमा ल्याएदेखि नै उनीहरूले सीमालाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए। बुधबार राति सीमालाई उनका अभिभावकले निर्घात कुटपिट पनि गरेको छिमेकीहरूले बताएका छन्। प्रहरीका अनुसार मृतककी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफूहरूले कसैलाई थाहा नदिई जंगलमा लगेर शव जलाएको बयान दिएकी छिन्।