काठमाडौं, साउन १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमै भ्रष्टाचार गर्ने जनार्दन शर्माको बिषयमा कडा प्रतिवाद गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयमा बिचौलिया भित्र्याएर करको दर हेरफेर गरी मुलुक लुटने अर्थमन्त्री शर्मालाई पुनः सोही मन्त्रालयमा मन्त्री बनाएपछि एमालेले कडा रुपमा प्रस्तुत हुने जनाएको हो ।
एमाले प्रमुख सचेतक बिशाल भट्टराईले अर्थमन्त्री नियुक्त हुनभएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने बताउनु भयो । संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने जानकारी उहाँले दिनुभयो । ’बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भयो । फरक मत लिएर जनताका बीचमा जान्छौं । सडक र सदनबाटै आन्दोलन गर्छौं । कडा रुपमा प्रतिवाद गर्छौं,’ भट्टराईले भन्नुभयो ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शर्मामाथि केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो ।
संसदीय छानबिन विशेष समितिले बहुमतका आधारमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । तर एमालेले फरक मत राखेको थियो ।













प्रतिक्रिया दिनुहोस्