जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १८:४२

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान


धनगढी, १६ साउन । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गर्नुभएको छ । अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गर्नुभएको हो । बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताउनुभयो ।

‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेशिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन भन्ने मेरो चाहना रहेको छ,’ उहाँले भन्नुभयो । स्वास्थ्य सेवा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने भट्टको तर्क छ ।

उहाँले अस्पतालमा आएका बिरामीलाई कुनै समस्या भए जुनसुकै समयमा पनि आफूलाई खबर गर्न आग्रह गर्नुभएको हो । ‘म सधैँ बिरामीको साथमै रहने छु । गुणस्तरीय स्वास्थ्य मात्र नभएर सरसफाइ र बिरामीमा कुरुवाको व्यवस्थापनका बारेमा पनि ध्यान दिइरहेका छौं,! उहाँले थप्नुभयो । उहाँले आगामी दिनमा पनि आफूले प्राप्त गरेको भत्ता विपन्न बिरामीहरूलाई प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।