जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १९:०९

चुनावको मितिमा गठबन्धनमा जुट्यो सहमति


काठमाडौं, साउन १८ । सत्तारुढ गठबन्धनमा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणाको दिनमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति जुटेको हो ।

बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने सहमति भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार मंसिर ४ गते नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा समझदारी बनेको छ । निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ ।