काठमाडौं, साउन १९ । नेपालमा बस्दै आएका एकजना चिनियाँ नागरिक चुङ याङयाङको अपहरणका लागि न्यायाधीशकै पिएसओ संलग्न भएको पाइएको छ । अनुसन्धानको क्रममा न्यायाधीशका पिएसओ रहेका प्रहरीकै पेस्तोल प्रयोग गरी चिनियाँ नागरिकको अपहरण भएको तथ्य बाहिर आएको हो ।
प्रहरीका अनुसार चिनियाँ नागरिकलाई अपहरण गर्ने क्रममा उच्च अदालत पाटनको एकजना न्यायाधीशका पीएसओ ३७ वर्षीय हवल्दार कर्ण गुरुङले बोक्दै आएको सरकारी पेस्तोल प्रयोग भएको पाइएको छ । प्रहरीले न्यायाधीशको नाम भने अझै खोलेको छैन । प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न भएको अभियोगमा हवलदार गुरुङ र महानगरीय प्रहरी बृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवारलाई समेत पक्राउ गरेको छ ।
प्रहरीले हवल्दार गुरुङ र घुमुवा सुनुवारसँगै २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसीलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार यी दुईजना प्रहरीसहित अन्य अभियुक्त मिलेर ती चिनियाँलाई अपहरण गरी मित्रनगरस्थित प्युठान होटल एन्ड लजमा बन्धक बनाएका थिए ।
प्रहरीले हवल्दार गुरुङले बोक्ने गरेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । उक्त होटलमा चिनियाँ नागरिकलाई बन्धक बनाएका दुई प्रहरीसहितका उनीहरूले १ करोड रूपैयाँ फिरौती बार्गेनिङ गरेका थिए । तर चिनियाँ नागरिकका आफन्त ५० लाख रूपैयाँ दिन तयार भएका थिए । बार्गेनिङपछि फिरौती रकम लिन आएका बेला बिजी मलअगाडिबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्