जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार २०:४५

सत्तापक्षको यस्तो हर्कत संसदीय व्यवस्थामा दुनियामा हुँदैन : सुवास नेम्वाङ


बुटवल, साउन १९ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ पाँच दलीय गठबन्धनलाई संसदीय मूल्य मान्यताविरुद्धको दुषित गठबन्धनको संज्ञा दिनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले यस्तो बताउनु भएको हो ।

उहाँले दुषित गठबन्धन भएकै कारण चुनाव घोषणा जस्तो महत्वपूर्ण विषयमा समेत सरकारले प्रमुख प्रतिपक्षी एमालेसँग कुनै छलफल नगरेको बताउनु भयो । उपाध्यक्ष नेम्वाङले एमालेले समयमै निर्वाचन घोषणा गरिनुपर्छ भन्दै आएको र निर्वाचन आयोगले पनि पहिलेदेखि नै समयमै निर्वाचन गर्न सल्लाह र सुझाव दिईरहेकोले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि सबै दलहरुसँग छलफल गर्नुपर्नेमा प्रमुख प्रतिपक्षी दलसँग समेत छलफल नगरिएको बताउनुभयो ।

सरकारले विगतमा गर्ने निर्णय जस्तै निर्वाचनको घोषणाको निर्णय पनि सुटुक्क र छापामार शैलीमा गरेको टिप्पणी उहाँले गर्नुभयो । ‘निर्वाचनको मिति घोषणा हुनुपथ्र्यो, भयो, राम्रो भयो, तर सरकारले विगतका निर्णयहरु जसरी सुटुक्क, छापामार शैलीमा निर्णय गथ्र्यो, अहिले पनि त्यसैगरी निर्णय गर्यो, यसपटक पनि त्यस्तै भयो, हामीसँग छलफल भएन,’ नेम्वाङले भन्नुभयो ।

उहाँले आफुहरुसँग सल्लाह नगरिए पनि तोकिएको मितिमा निर्वाचन गर्न एमालेले सहयोग गर्ने उल्लेख गर्दै निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा समयमै निर्वाचन गर्न सरकारलाई आग्रह गर्नुभयो । ‘हामीलाई नसोधिए पनि निर्वाचनको मिति घोषणा भयो, अब निर्वाचन हुने भयो भनेर हामी खुसी छौं, सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नुपर्छ,’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो ।

नेम्वाङले अहिलेको गठबन्धनलाई संसदीय प्रणालीका मूल्य र मान्यताबारे कुनैपनि जानकारी नभएको तथ्य पनि राख्नुभयो । ‘प्रमुख प्रतिपक्षी दल भईरहँदा अहिलेपनि सबैभन्दा धेरै मत प्राप्त गरेर देशको ठूलो दल एमाले हो, प्रमुख प्रतिपक्षी दल राज्यको अभिन्न अंग पनि हुन्छ, निर्वाचन जस्तो महत्वपूर्ण विषयमा हामीसँग मात्र होईन अन्य दलहरुसँग पनि छलफल गरिनुपथ्र्यो,’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष नेम्वाङले सत्ता गठबन्धन एमालेका विरुद्ध जतिसुकै लागेपनि जनताले निर्वाचनमार्फत दुधको दुध, पानीको पानी छुट्टयाइ दिने बताउनुभयो । निर्वाचन घोषणा भईसकेपछि अब जनताले फैसला गर्ने भन्दै आफुहरु निर्वाचनको तयारीमा जुटिसकेको उहाँले बताउनु भयो । ‘हामी दन्दनाएर निर्वाचनको तयारीमा जुटेका छौं, एमाले बहीखातासहित निर्वाचनको मैदानमा उत्रिने छ, फैसला जनताले गर्ने छन,’ उहाँले भन्नुभयो ।

संघीयताका विपक्षका एमालेका कार्यकर्ताहरुले बिभिन्न धारणा सार्वजनिक गरेको भएपनि एमालेको आधिकारीक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको उपाध्यक्ष नेम्वाङले प्रष्ट पार्नुभयो । कसैको व्यक्तिगत धारणा आएको भएपनि एमाले संघीयताकै पक्षमा दृढ रहेको उहाँको भनाई छ । उहाँले संसारभर चलेको संसदीय मुल्यमान्यता विपरित नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताउनुभयो ।

‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो हर्कत संसदीय व्यवस्थामा दुनियामा हुँदैन र छैन पनि । ’उपाध्यक्ष नेम्वाङले गभर्नर महाप्रसाद अधिकारी पूर्वएमाले भएपनि एम अधिकारी भनेको महाप्रसाद नभएको बताउनु भयो । अमेरिकाबाट आएको अबैध रकम रोक्न खोजेकै कारण गभर्नरमाथि निलम्बनको कारवाही गरिएको उहाँले बताउनु भयो ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केशव भण्डारीले गर्नुभएको थियो । एमालेको साउन २० र २१ गते दाङमा हुने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणका लागि उपाध्यक्ष नेम्वाङ बिहीबार बुटवल आउनुभएको हो ।