जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १९:३०

समाजवादको आधार निर्माण गर्न एमालेको विजय अनिवार्य छ : पृथ्वीसुब्बा गुरुङ


कास्की, साउन २२ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मुद्दा र सवालहरूमा तथ्यपरक विश्लेषण आवश्यक रहेको तथ्य औंल्याउनु भएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको गण्डकी प्रदेश सम्मेलनको उदघाटन गर्दै एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किने खतरा पनि औल्याउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बहिर्गमन प्रतिनिधि सभाबाट मात्र हुने भए पनि नेपालमा त्यो काम हुन नदिइएको बताउनु भयो ।

‘लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बहिर्गमन प्रतिनिधि सभाबाट मात्र हुन्छ तर वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो संगति मिलेको छैन,’ गुरुङले भन्नुभयो । नेपालका बुद्धिजीवी र प्राध्यापकहरूले यस्ता विषयहरूमा अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने पनि उहाँले सुझाव दिनुभयो । उहाँले समाजवादको आधार निर्माणका लागि एमालेको विजय अनिवार्य भएको पनि बताउनुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको सञ्चालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले संगठनले राष्ट्रियस्तरमा उठेका विभिन्न सवालहरूमा देशव्यापी रूपमा विषयगत बहस सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदमप्रसाद खतिवडा, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी लगायतले मन्तव्य राख्नुभएको थियो ।