काठमाडौं, ३० साउन । सत्तारुढ गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँड कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको छ । सोमबार बालुवाटारमा बसेको सो कार्यदलको बैठकमा बाँडफाँडमा कुरा नमिलेपछि विनानिष्कर्ष टुंगिएको हो ।
‘सिट बाँडफाँडमा सबैले आ–आफ्ना धारणा राखेपछि कुरा मिल्ने छाँट देखिएन’ कार्यदलकै एक सदस्यले भने ‘काँग्रेसले नै पहिलो प्रस्ताव भन्ने कुरा भयो ।’ त्यसका लागि कार्यदलका संयोजकसमेत रहेका काँग्रेस नेता कृष्ण सिटौलालाई पहिलो प्रस्ताव पेश गर्न जिम्मेवारी दिइएको छ । कार्यदलको अर्को बैठक बुधबार बस्ने भनिएको छ ।
बुधबारको बैठकमा सिटौलाले बाँडफाँडको खाका पेश गरेपछि अन्य दलको धाारणा आउने बताइएको छ । काँग्रेस नेता तथा काँग्रेसबाट कार्यदलका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने २०७४ सालमा भएको निर्वाचनमा प्राप्त समानुपातिक मत र गत स्थानीय निर्वाचन प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँड गरिने बताएका छन् ।
नयाँ बनेको पार्टी नेकपा (एस) लाई विशेष ढंगले हेरिने सहमति भएको बताइएको छ । दावीअनुसारको सिट बाँडफाँड गर्ने हो भने जम्मा सिट १६५ ले पनि नभ्याउने कार्यदलका एक सदस्यले बताए ।













प्रतिक्रिया दिनुहोस्