काठमाडौं, भदौ १ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले लगातार मूल्य घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले भने खुद्रा बिक्री मूल्य यथावत राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै उपभोक्तालाई हाकाहाकी ठगेर मूल्य समायोजन नगरेको हो ।
आईओसीलाई चार महिनादेखि सम्झौताअनुसार भुक्तानी दिन नसकेको र सरकार तथा वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दायित्व रहेकाले मूल्य यथावत राख्नुपरेको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार आईओसीको नयाँ मूल्यसूचीअनुसार पनि मासिक घाटा करिब ६२ करोड रुपैयाँ छ । ‘घाटाकै कारण आईओसीलाई २३ अर्ब तिर्न सकेका छैनौं । सरकार, वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने ब्याज मात्रै मासिक १४ करोड छ । यस्तो अवस्थामा मूल्य घटाउन कसरी सम्भव हुन्छ,’ कार्यकारी निर्देशक थानीले भन्नुभयोे ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भइरहँदा आपूर्ति सहज बनाउन निगमले सरकारसँग ५ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि ७ अर्ब ऋण लिएको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिएको छ । वाणिज्य बैंकले भने ९ प्रतिशतका दरले ३ महिनाका लागि ऋण दिएको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण गत वर्ष करिब ५० अर्ब नोक्सानी भएको जनाएको छ । पुरानो घाटा पूर्तिसँगै मूल्य समायोजन हुन नसक्नुको अर्को कारण सरकारले कर समायोजन नगरिदिनु हो । अर्थ मन्त्रालयले पूर्वाधार कर शीर्षकबाट जेठको शोधभर्ना दिए पनि असारको दिएको छैन । जेठमा १० दिन बराबरको करिब ५९ करोड शोधभर्ना थियो । असारमा १ अर्ब ९३ करोड रुपैयाँ थियो । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थमा प्रस्ताव गरे पनि उक्त रकम पाएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्च पदस्थ सहभागी बैठकमा अर्थमन्त्री जनार्दन शर्मा स्वयंले प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्न सकिने बताउनु भएको थियो । अर्थमन्त्री शर्माले कर समायोजन गर्न सकिने बताएलगत्तै निगमले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । तर सरकारले कर समायोजन गरेन । अर्थमन्त्रीले वाचा पूरा नगरिदिँदा इन्धन मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।
इन्धनको महँगो मूल्यका कारण उपभोक्तालाई चौतर्फी मार परिरहेका बेला सरकारले कर कटौतीमार्फत राहत दिन बेवास्ता गरेको छ । निगमका अनुसार आईओसीबाट ९८ रुपैयाँ ६७ पैसामा खरिद गरिएको पेट्रोलमा ६३ रुपैयाँ ३६ पैसा सरकारी राजस्व लाग्छ । त्यस्तै १ सय २० मा खरिद गरिएको डिजेलमा ४७ रुपैयाँ ३ पैसा राजस्व उठाइन्छ ।
नयाँ सूचीअनुसार अहिलेको बिक्री मूल्यबाट निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ४५ रुपैयाँ र मट्टीतेलमा २२ रुपैयाँ नाफा छ । डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ ।
अर्थमन्त्री शर्माले कर समायोजन गर्न सकिने बताएलगत्तै निगमले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । तर सरकारले कर समायोजन गरेन । अर्थमन्त्रीले वाचा पूरा नगरिदिँदा इन्धन मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ अर्थ मन्त्रालयले उपभोक्तामाथि पहिलो बेइमानी गरिरहेको बताउनु हुन्छ ।
निगमका अनुसार आईओसीले अगस्ट १६ (साउन ३१) मा पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसा घटेको छ ।
यसअघि साउन १६ मा डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको मूल्यसूची आएको थियो । आईओसीले साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारी छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । मूल्य अझै घट्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्