जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १२:५४

फेरि गृहजिल्ला झापा आउँदै एमाले अध्यक्ष ओली, यस्तो छ तीन दिनको कार्यक्रम


झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि झापा आउन लाग्नुभएको छ । आगामी मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओलीको गृहजिल्ला र निर्वाचन क्षेत्रको भ्रमण बाक्लिएको हो ।

अध्यक्ष ओली साउनको दोस्रो साता चार दिन झापा बसेर राजधानी फर्कनु भएको थियो । अध्यक्ष ओली बिहीवार पुनः तीन दिने झापा बसाईको कार्यक्रम बनाएर आउन लाग्नुभएको हो । बिहीवार विहान अध्यक्ष ओली झापाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार झापा क्षेत्र नं ३ को बनियानीमा आयोजना हुने कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ ।

झापा आएपछि सो कार्यक्रमलाई सम्बोधन गरी अध्यक्ष ओली आफ्नो गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा बस्ने कार्यक्रम रहेको छ । यस्तै भदौ ३ गते शुक्रवार अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग अलग भेटघाटको कार्यक्रम तय गरिएको छ । गत साउनको ११ देखि १४ गतेसम्म झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग अलग भेटघाटको कार्यक्रम राखिएको हो ।

शुक्रवार नै उहाँ गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । एमाले झापाका अनुसार भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उदघाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरी अधयक्ष ओली राजधानी फिर्ता हुने कार्यक्रम छ ।