जनता टाइम्स

४ भाद्र २०७९, शनिबार २३:५६

रहेनन् कांग्रेस नेता प्रदीप गिरी


काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा आज राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

उहॅालाई हिजो भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।लामो समय भारतमा उपचार गरेर स्वदेश आउनुभएको उहॅाको पुनः स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना हुनुभएको थियो ।

घॅाटीको क्यान्सरबाट पीडित उहॅालाई निमोनिया पनि देखिएको थियो ।गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उहॅाले जेल जीवन बिताउनुभएको थियो ।

उहॅा २०२४ सालमा नेपाल छात्र संघ (बनारस)को निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिनुभएको थियो ।

व्यवस्थापिका संसद‍्मा उहॅाले नेपाली कांग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो । भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गर्नुभएको गिरी अध्ययनमा विशेष रुचि राख्नुहुन्थ्यो ।