जनता टाइम्स

६ भाद्र २०७९, सोमबार १७:२६

निर्वाचन आयोगको प्रस्ताव कति व्यवहारिक ?


काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आचारसंहितामा केही नयाँ प्रस्ताव गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोगले प्रस्ताव गरेको आचारसंहिताका नयाँ बुँदा हेर्दा आकर्षक देखिए पनि अव्यवहारिक रहेको सरोकारवालाले बताएका छन् ।

आयोगले उम्मेदवारले र्याली गर्दा २५ जनाभन्दा बढी मानिस जुटाउन नपाउने, १० ओटाभन्दा बढी राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाउने, भारतीय गाडी पूर्ण निषेध जस्ता नयाँ बुँदा समेतटने गरी आचारसंहिता प्रस्ताव गरेको छ । अब राजनीतिक दलहरूसँगको छलफलपछि सो आचारसंहिताले पूर्णता पाउनेछ । तर सरोकारवालाहरू निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिताको नयाँ बुँदा अव्यवहारिक भएको बताउछन् ।

२५ जना भन्दा बढी र्यालीमा सहभागि गराउन नपाउने प्रस्ताव हास्यास्पद रहेको बताउँछन् । ‘२५ जनाको र्याली कस्तो हुन्छ ?’ एक एमाले नेताले भने । मानिसहरू मिसिदैं र्याली ठूलो भयो भने के गर्ने ? कसलाई तपाई नहिड्नुस् भन्ने ? ती नेताले भने । ‘यो लागु नहुने र अव्यवहारिक प्रस्ताव हो’ उनले भने ।

सीमावर्ती क्षेत्रमा अहिले पनि भारतीय गाडीको विगविगी छ । त्यसैलाई रोक्न सकेको छैन स्थानीय प्रशासनले । चुनावका बेला नेपाली गाडीको अभावसंगै महंगो हुने भएकाले भारतीय गाडीको व्यापक प्रयोग हुँदै आएको छ । त्यस्ता गाडीले दैनिक भन्सार बुझाउने पनि गरेका छन् । चुनावका बेला पनि नेपालको कानुनअनुसार भन्सार बुझाएर त्यस्ता गाडी प्रयोग गर्न पाउनु पर्ने बताउँछन् सीमावर्ती क्षेत्रका दलका नेताहरू ।

त्यसैगरी निर्वाचन आयोगले निर्वाचन प्रचार–प्रसारको समय १५ दिन मात्र रनख्नु पर्ने पनि आचारसंहितामा प्रस्ताव गरेको छ ।