काठमाडौं, १० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिकता विधेयकबारे राष्ट्रपतिले सैनिक अधिकारीहरुसँग छलफल गर्न नमिल्ने प्रतिक्रिया दिएसँगै राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले त्यसको कडा प्रतिवाद गर्नुभएको छ ।
भट्टराईले सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयकबारे सैनिक अधिकारीहरुसँग परामर्श गर्ने स्वविवेकीय अधिकारी राष्ट्रपति भण्डारीलाई नरहेको बताउँदै राष्ट्रपतिले चुनावको मुखमा अमुक दल र नेतालाई सघाउन खोजेको आरोप लगाउनुभएको छ ।
त्यसको प्रतिक्रियामा पूर्वाधारविद्समेत रहनुभएको आचार्यले नागरिकता विधेयकबारे विदेशी राजदूत र तिनका लोकस आसेपासे नेताहरुलाई नभएको चिन्ता राष्ट्रपतिलाई किन भएको होला भन्दै व्यङ्ग्यात्मकरुपमा आलोचना गर्नुभएको छ ।
यसअघि भट्टराईले लेख्नुभएको थियो,‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक र पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर सॅाचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन । नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा’राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल तथा नेतालाई सघाउन खोजेको भए झन् भएन ?’
प्रतिउत्तरमा आचार्यले लेख्नुभयो,‘हो नि ! यत्रो जनचासोको र राष्ट्रिय सुरक्षासँगसमेत सम्बन्धित हुन सक्ने विषयमा सैनिक र पूर्वसैनिक अधिकारीसँग छलफल र परामर्श किन गर्नु परेको ? गर्नै परे बरु विदेशी राजदूतहरु र तिनका लोकल आसेपासेसँग गर्दा भैहाल्थ्यो । दलका यत्रा घाघडान नेतालाई चासो नभएको कुरामा ‘जाबो’ रापलाई किन चिन्ता ?’













प्रतिक्रिया दिनुहोस्