उत्पादक शक्ति र साधन स्वयं सबल र सशक्त हुनु अपरिहार्य हुन्छ । यसका लागि शक्ति सञ्चय गर्नु जरुरी हुन्छ । कठिनतम श्रममय जीवनमा थाकेर लखतरान भएको मानव शक्ति नै आर्जन, उपार्जन र उत्पादनको सचेतन शक्ति र सामथ्र्य हो । यसलाई पुनर्ताजगी अपरिहार्य हुन्छ । नत्र भोलिका दिनमा पहिलेझैँ श्रमकर्ममा माटो भएर लाग्न सक्तैन । तसर्थ तीज लगायत चाडपर्वहरु समाज र देशको उन्नति र समृद्धिको कारक तत्व हो । यस्ता पर्वहरु देशका मौलिक संस्कृति पनि हुन् । यी पर्वहरुमा समय सापेक्ष सुधार र परिमार्जन गर्दै जाँदा मात्र तिजको औचित्य पुर्नपुष्टि हुने देखिन्छ
प्रा.डा.बद्रीविशाल पोखरेल
विशेषतः अभौतिक वा आत्मिक संस्कृतिभित्र नेपालमा दुई खाले अतिवाद भित्रिएको देखिन्छ । एउटा मानव सभ्यताको आदि मध्यकालदेखि धर्म र ईश्वरका नाममा चरम अन्धविश्वास र रुढीवाद भित्रियो भने अर्कातिर पुँजिवादी चरम उच्छुङ्खलता, अश्लीला र अराजकता प्रवेश गराइयो । दुबै समाजको अग्रमनका बाधक तत्व हुन । अहिले तीज लगायत चाडपर्वमा संस्कृतिलाई नै चरम विकृत पारी युवा समाजलाई भड्काउने खालका कामहरु हुन थालेका छन् । तर चाडपर्व लगायत संस्कृतिको आरम्भ र विकास मानव सभ्यताका मानव मात्रका हितका लागि परिकल्पित, सिर्जित तथा विकसित सर्वप्राचीन चाडपर्व हुन् ।
मानवका श्रम संघर्ष,उत्पादन र उपार्जन संघर्षका उपज हुन् । दैनिक जीवन यापनका लागि,उपार्जन र उत्पादन संघर्षमा लाग्दा मानिस थाकेर हैरान र लखतरान भयो । यस अवस्थामा भोलिका दिनमा पहिले झैँ श्रमसंघर्षमा सशक्त रुपमा लाग्न मानवले पुनर्ताजगी आवश्यक ठान्यो । यसका लागि पोसिलो खाने कुरा खाने र नाचगान समेत गरेर शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्ने उपक्रममा चाडपर्वको सुरुवात भएको स्पष्ट हुन्छ । दसैँ, तिहार, तीज र म्हः ह पूजा अर्थात शरीरको पूजा आदि यसका उदाहरण हुन् ।
यही क्रममा प्रायः चाडपर्वहरुमा सामन्तवादी धार्मिक सांस्कृतिक सार र रुप मिही रुपमा प्रवेश गराइयो । ब्राम्हण समाजमा आफूले खानुभन्दा पहिले भातको थाल अगाडि भुईंमा …भूपतये स्वाहा भुवन पतये स्वाहा ..(.राजालाई उपहार ) भन्दै अप्सानी हालेर अर्पण गर्नुपर्ने स्थिति बसालियो । यस्ता कर्महरु सामन्ती शासन व्यवस्थाले सुललित शब्द,स्वर, संगीत र लयमार्फत् सुरु गर्यो ।
यस्ता समाजलाई गुणात्मक रुपान्तरण गर्ने विषयका बारेमा एमाले र अझ संस्कृति विभाग मात्र होइन, यससित सम्बन्धित जानकार समेत प्रायः मौन रहेको देखिन्छ । पार्टी अध्यक्ष ओलीले वैदिक सनातन,बौद्ध किराँत आदि धर्म संस्कृतिका कैयौँ जीवनोपयोगी समाजोपयोगी सकारात्मक विषय उजागर गरिरहनु भएको छ । यस्ता विषय उपल्ला तहका नेतालाई समेत बारबार बताइरहनु भएको छ । दशरथको नाम कसरी रहन गयो ? मनुस्मृतिका कतिवटा श्लोक कहिले लेखिए र तिनमा चाहिँ महिला द्वेषी भावना विचार पाइन्छ नत्र त्यहाँ पहिले लेखिएका श्लोकहरुमा नारी असमानता पाइँदैन आदि आदि अनेकन पक्षहरु उल्लेख गरिरहनु भएको छ ।
माओले यस्ता विषय उजागर गर्दा पार्टी र पार्टीका विभागहरु उक्त विषयमा अध्ययन र अनुसन्धान गर्थे तर यहाँ त मतलब नै छैन झैँ देखिन्छ । जबज र पार्टी समाजवादको आधार तयार पार्ने र त्यसलाई विकसित गर्ने ध्येय राख्छ तर अधिकांश नेता र नेतृ कहाँ कहाँ कुन कुन अवसर पाइन्छ र आफू र आफन्तसहित भएर खाइहालूँ पाइहालूँ भरे भोलि केहो केहो भन्ने क्षणिक स्वार्थमा चुर्लुम्म डुबेको अवस्था छ । ओलीकै प्रतिवेदमा पनि आफू र आफन्तलाई स्थानीय, प्रदेश र संघमा टिकट दिलाउन कम्मर कसेर लाग्दा हार व्यहोर्नु परेको उल्लेख गरिएको छ । नेपालमा सांस्कृतिक चाडपर्वहरु मनग्गे छन् र तिनमा पर्याप्त अन्धविश्वास व्याप्त छ र नयाँ विकृतिको प्रवेश डरलाग्दो रुपमा हुन लागेको छ । यस्ता विषयमा सघन बहस, छलफल र अनतर्र्किया पार्टी र मोर्चा संगठनमा नै गर्नु अपरिहार्य छ । तर नेताहरुमा नै यस खालको चेतको सर्वथा अभाव देखिन्छ । नत्र र्याप गायक एमालेभित्र लोकप्रिय हुने जस्तो विसंगत स्थिति आउने नै थिएन ।
सांस्कृतिक भड्काउ कति खतरानक हुन्छ भन्ने धेरै नेताले बुझेका छैनन् । संस्कृति विभाग प्रमुख रघुजी पन्तले कला,साहित्य र संसकृतिका क्षेत्रमा पार्टीकरण सबै भन्दा घातक हुने कुरा एक कार्यक्रममा बताउनु भएको थियो । तर सही कुरा सुन्ने को छ र ? नयाँ मुल्लाले प्याज बढी खान्छ । नौला गाइका नौपुला गाँस । जबजले कलात्मक हस्तक्षेपको विषयमा राम्रै विमर्श गरेको छ तर ठस्कान नेताले कुृरा बुझे पो । बेलाको बोली र मौकाको काम सबैले गर्ने हो भने सय थुकी नदी हुन्छ तर यहाँ त सब जान्ने ज्ञानी तर जानेको छैन । यही तिज विषयमा मलाई धेरै खसखस लाग्यो पहिले देखि लेखेका सामग्री थिए । कसलाई भनौँ पत्याउने मानिस नै पाउन गाह्रो छ । विषय महत्वपूर्ण छ,लेखिएको छ तर लेख्ने मानिसको देखावा अग्लो पहिचान छैन । कहिले काहिँ मुख भएर पनि मुख विक्री हुँदैन ।
फेरि संस्कृति जस्तो अत्यन्त महत्त्वपूर्ण संवेदनशील विषय चाहिँ संस्कृति विभागको मात्र हो जनसांस्कृतिक महासंघको विषय हो,कलाकार र साहित्यकारको मात्र हो अरु जनसंगठनले यस्ता झारझुरे विषयमा कहाँ अल्झिने हो भन्ने एक खालको उपेक्षा भावनाका कारण संस्कृति भित्र चरम विकृति मौलाइरहेको छ । यसले एमालेका मतदाताहरुलाई समेत भड्काइरहेको देखिन्छ । अर्थात् जुन विषयलाई जति सिर्जनात्मक रुपमा महत्व दिनु पर्ने हो त्यसरी ध्यान र मन नदिने एमालेका कारण जनमत सुरक्षणमा गम्भीर समस्या आएको आउने देखिन्छ । त्यसैले चाडपर्व सम्बन्धी आदिकालका सत्य तथ्य र वास्तविक पक्षलाई उजागर गर्न ढिला गर्नु हुन्न ।
कृषि र पशु पालन सुरु र विकसित भएपछि प्रायः सबै चाड पर्व सुरु भएको देखिन्छ । खेतीपातीका क्रममा बालीनाली लगाउँदा,बाली हुकिँदा,बाली फल्दा र बाली घरमा ल्याएर थन्क्याई सकेपछिका अवसरहरुमा पनि खुसियाली मनाउने क्रममा पर्वहरु सुरु भए । न्वाँगी, उभौली उधौली, लगायत पर्वमा बालीनाली राम्रो होस्,विपत्तिहरु नआउन् भनी साकेवा,साखेवाशिली गर्दै गाउँने र नाच्ने पर्व हुन् । बाली लगाउने र थन्क्याउने अवसरमा वर्षमा दुईपटक मनाइने चाड उधौली र उभौली हुन् ।, यस पर्वमा कृषि कर्म जन्य नृत्य र अभिनय गरिन्छ ।
भूगोल,भाषा संस्कृति,जातजाति, समुदाय,उमेर समूह र लिङ्गत आधारमा चडपर्वका विभिन्न प्रकार हुन्छन् । तर तिहार भने युगान्तकारी पर्व हो । आदिम अवस्थामा एउटै आमाका छोरा छोरीका बीच हु्ने स्वच्छन्द यौन सम्बन्ध राख्ने परिपाटी थियो । यसलाई हटाएर व्यवस्थित अनुशासित वैवाहिक परम्परा सुरु गरिएको ऐतिहासिक पर्व हो तिहार । ऋग्वेदमा यम र यमी नाम गरेका एउटै आमाका सन्तान दाजु बहिनीको संवादले स्वच्छन्द यौन सम्बन्ध हटाउने कुराको पुष्टि गर्छ । चेली माइतीजस्तो आदर र आत्मीय सम्बन्ध राख्ने तिहारजस्तै पर्वका रुपमा सामाचखेवा,जितिया,राखी र चासोकतङनाम आदि पर्छन् ।
त्यसैगरी प्रकृति, पशु पन्छी केन्द्रित पर्व पनि हुन्छन् । कुकुर, गाई,गोरु,भ्यागुता आदि र वसन्त उत्सव, हलसारो र हलेरो वा भूमे पूजा र जात्री पर्व वा चाडहरु यस खालका उदाहरण हुन् । चाडपर्वले फलफूल,कन्दमुलको पर्याप्तता , लटरम्म फल फलेको र फूलहरु फुलेकोजस्ता ऋतु परिवर्तनजन्य अवसरलाई पनि स्पष्ट दर्साउँछन् । तीज भने विशेषतः महिला केन्द्रित पर्व हो । वामन शिवराम आप्टेको संस्कृत हिन्दी शब्दकोशमा तिज् नितान्त इच्छार्थ,साथ निर्वाह गर्नु भन्ने अर्थ उल्लेख गरिएको पाइन्छ । संस्कृतहुँदै विकसित यस शब्दले सामूहिक रुपमा सम्पन्न गरिने कार्यलाई जनाउँछ ।
यसको नालिबेली भने शिव र पार्वती प्रणयसित जोडिएको पाइन्छ । भगवान् विष्णुसित विवाह गर्न नमानी शिवसित अनुरक्त पार्वती र उनको तपस्या तीजसित जोडिएको छ । पार्वतीका साथीहरुले हरण गरेर शिवसितको सान्निध्यमा पुर्याएको अर्थमा हरितालिका भनिएको देखिन्छ । शिवजस्तो पति पाउने र पतिको दीर्घायु,सुस्वास्थ र समृद्धिको कामना राखी महिलाहरुले भाद्र शुक्ल द्वितीया देखि चार दिन सम्म मनाउने नै पर्व तीज हो । पहिलो दिन पोसिला र मीठा परिकार खाने वा दर खाने,दोस्रो दिन पानी समेत नपिई पतिको दीर्घायुको कामना स्वरुप ब्रत वा निराहार बस्ने अनि तेस्रो दिन विधिवत् स्नान गर्ने र पाँचौँ दिन भारद्वाज,विश्वामित्र,अरुन्धती,काश्यप,अत्रि आदिको पूजा आरधना गर्ने परम्परागत प्रचलन रहेको देखिन्छ । महिलाको रजस्वलालाई घृणाको दृष्टिले हेर्ने तत्कालीन न्यून चेतना यस पर्वमा झल्किन्छ । त्यसैले एक दिन भए पनि महिलाहरु फुक्काफाल भएर पुनर्ताजगी पर्वका रुपमा तीज पर्वलाई महिलाहरुले लिने गरेका छन् ।
तीज महिलाका श्रम संघर्षमय जीवन, सामाजिक र पारिवारिक उपेक्षा र अपमान द्वन्द्वबाट पीडित महिलालाई जीजिविषा प्रदान गर्ने पर्व हो । अनमेल विवाह,बहुविवाह, वालविवाह र विवाहित महिलाले भोग्नु परेका अनेक सकसहरु एक दिन भए पनि बिर्सने ,दुःख बिसाउने तथा रमाउने पर्वका रुपमा यो पर्व सुरु भएको देखिन्छ । शिव र पार्वतीलाई आधार मानेर ईश्वरीय धार्मिक सांस्कृतिक पहिचान सुरु गरिएको अनुभव हुन्छ । यसैले यस पर्वमा धार्मिक अन्धवाद र अतिवाद विकसित हुनगयो । तत्कालीन न्यून चेतनाका कारण यस पर्वलाई अन्धकरण गरियो । तर गहन अन्वेषण गरेको गर्दा बुद्ध मानव र महामानव का रुपमा प्रमाणित भएझै सूक्ष्म अध्ययन र अनुसन्धानबाट शिव पार्वती मानवका पुर्खा हुन् भन्ने स्पष्ट हुन्छ । बुद्धलाई विष्णुको दसौँ अवतार पनि भनियो र अतिरञ्जित गरियो ।
शिव र पार्वती प्रणयबाट एकनिष्ठ विवाह प्रथा सुरु भएको र त्यसमा अभिभावकको अनावश्यक हस्तक्षेपलाई स्पष्ट पार्छ । अनमेल ,बहु ,विधवा ,बाल विवाह लगायत अनेक खालका महिला अन्याय र हिंसा जस्ता उत्पीडित महिलाको सम्मीलन नै तीज हो । यस विरुद्धको जागृत आदिचेतना पार्वती शिव प्रणयबाट पुष्टि हुन्छ । भेलेन्टाइन नामको पश्चिमा प्रणय पर्वभन्दा बहुआयमिक महत्वको पर्व हो तीज । पितृसत्तात्मक समाजको पीडा सहन नसकेर नदी,भीर र पहराबाट हाम्फालेर आत्महत्या गर्न बाध्य हुन्थे । त्यसैले यस खालका पीडालाई एकदिन भए सामूहिक रुपमा भेला भएर बिर्सने र रमाउने पर्व नै तीज हो ।
यो चाड २०४६ पछि अनेम संघ मार्फत् महिला समानता,जागरणसित र महिला चेतना बृद्धिसित सम्बन्धित हुन थाल्यो तर पनि यसमा अनेक खालका रुढीगत मान्यताको अवशेष अझै पनि गाउँहरुमा पाइन्छ । त्यसैले तीज लगायत पर्वमा विद्यमान जीवनोपयोगी तथा समाज उपयोगी पक्षहरुलाई विकसित र समृद्ध गर्दै जानुपर्छ भने अन्धविश्वासजन्य तमाम पक्षहरुलाई कलात्मक हस्तक्षेपका साथ हटाउँदै जानुपर्छ । कम्तीमा देशभक्त प्रगतिशील लेखक कलाकार र बुद्धिजीवीहरुको यसमा पहिलो दायित्व र जिम्मेवारी हुने देखिन्छ ।
सामन्तवादी सांस्कृतिक अवशेषका कारण महिलाहरुकै बीच विद्यमान अनेक खालका असमानता र विभेद हटाउन जरुरी पर्छ । तीज पर्वलाई बहुआयामिक जागरणमुखी पर्वका रुपमा रुपान्तरण गर्न सीमान्तीकृत महिला समूहसम्म विस्तारित गर्नुपर्छ । शहरमुखी होइन गाउँ र दुरदराज र पछिपरेका क्षेत्र र सबै महिलाका बीचमा तीजलाई पुर्याउनु जाती हुन्छ । तीज खाद्य पेय संस्कृतिसित पनि जोडिएको छ । नेवार समुदायको खानपीन पर्याप्त पौष्टिक रहेको स्पष्ट हुन्छ । डा. अरुण उप्रेती धेर्रै जसो बजारु खानालाई पत्रु खाना भन्नुहुन्छ । यस्ता खानाले महिला बाल बालिका धेरै खालका रोगले ग्रस्त हुने गरेको उहाँ बताउनु् हुन्छ ।
मकै,कोदो,फापर,भटमास,सिस्नु,साग र गेडागुडी आदि पौष्टिक खाद्य नै स्वस्थ्य वर्धक खाद्य पदार्थ हुन् । जुम्ला हुम्ला लगायत दुरदराजमा स्थानीय पौष्टिक खाद्य उत्पादन उपभोग गर्ने र तिनको उत्पादन बुद्धि गर्ने कुरामा ध्यान दिन सकिन्छ । कुन खाने कुरा खाएको लगत्तै अरु खाने कुरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्छ र मानिस मर्न पनि सक्छ भन्ने कुरालाई पनि यस अवसरमा विचार व्यक्त गर्न सकिन्छ । कतिपय महिलाहरुले भद्दा प्रशाधन,आभूषण र नृत्य गीतबारे बेर्लैमा सचेतता अपनाउने कुरामा पनि विमर्श गर्न सकिन्छ । कम्तीमा देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक अगुवा महिला संगठनले राजनैतिक जागरण गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ । यस्ता सांस्कृतिक महत्वका विषयमा संस्कृति विभागले बेलैमा पर्व सम्बन्धी सत्यतथ्य वस्तुवादी दृष्टिकोण अघि सारेर औचित्य पुष्टि गर्नुपर्छ । अहिले सबै पार्टी र नेता चोर भन्ने भ्रम भुईँतहदेखि नै छर्न थालिएको देखिन्छ । यस्ता सफेद झूट र भ्रमलाई ध्वस्त पार्ने कुरामा अनेम संघ केन्द्र लाग्नुपर्छ ।
तीज विषयमा परम्परागत गीत संगीतमा मात्र भर नपरी समयसापेक्ष नेपाली लगायत अरु पनि राष्ट्रभाषाका तीज विषयका जागरणमूलक, चेतनामूलक तथा मनोरञ्जनात्मक पक्ष कलात्मक रुपमा उजागर गर्ने कुरामा ध्यान दिनु पर्छ । तीज लगायत सबै चाडपर्व मानवीय जीवन र समाजलाई सबै हिसावले सबल र समृद्ध बनाउन निर्माण भएका हुन् । कुनै पनि पर्व र चाड अलौकिक अद्वितीय ईश्वरीय शक्तिका प्रसाद होइनन् । मानव समाजले आवश्यकता बोध गरेर आर्थिक भौतिक तथा बौद्धिक रुपमा समाजलाई समृद्ध बनाउने हेतुले सिर्जना र विकास गरेका हुन् ।
उत्पादक शक्ति र साधन स्वयं सबल र सशक्त हुनु अपरिहार्य हुन्छ । यसका लागि शक्ति सञ्चय गर्नु जरुरी हुन्छ । कठिनतम श्रममय जीवनमा थाकेर लखतरान भएको मानव शक्ति नै आर्जन, उपार्जन र उत्पादनको सचेतन शक्ति र सामथ्र्य हो । यसलाई पुनर्ताजगी अपरिहार्य हुन्छ । नत्र भोलिका दिनमा पहिलेझैँ श्रमकर्ममा माटो भएर लाग्न सक्तैन । तसर्थ तीज लगायत चाडपर्वहरु समाज र देशको उन्नति र समृद्धिको कारक तत्व हो । यस्ता पर्वहरु देशका मौलिक संस्कृति पनि हुन् । यी पर्वहरुमा समय सापेक्ष सुधार र परिमार्जन गर्दै जाँदा मात्र तिजको औचित्य पुर्नपुष्टि हुने देखिन्छ ।
(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभागका सदस्य हुनुहुन्छ ।)













प्रतिक्रिया दिनुहोस्