जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १६:३५

चोलेन्द्रले छताछुल्ल पारिदिए बारका नेताको नियत, बयानका लागि भोली फेरि बोलाइयो


काठमाडौं, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोध्नु भएको थियो । जबरा कडा ढंगले प्रस्तुत हुनुभयो । उहाँले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताउनुभयो ।

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गर्नुभयो । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिनुभयो ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उहाँविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।