जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार २१:०१

माओवादी देउवासँग भिख माग्ने ठाउँमा पुग्योः महासचिव पोखरेल


सिन्धुली, १५ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबाट देश विकास संभव नभएको बताउनुभएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा बुधबार आयोजित सभामा महासचिव पोखरेलले दलहरुको गठबन्धनबाट बन्ने सरकारले देश विकास गरेको विश्वको इतिहासमा कहींकतै नभएकाले भिजन भएको नेता, राजनीतिक स्थायित्व र बलियो राजनीतिक दलबाट मात्र संभव भएको बताउनुभयो ।

पाँच दलीय गठबन्धन लेनदेन र स्वार्थको संझौता भएको बताउँदै महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिबिना मुलुकले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो। महासचिव पोखरेलले प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली दौडाहमा लागेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नको लागि दिल्ली दौडाहमा लागेको सुनेको छु, उहाँले भन्नुभयो , ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर जनतामा गएका छौं । प्रधानमन्त्री विदेशीले बनाउने हो कि जनताले ।

’ महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सत्तालिप्साको आरोप लगाउनुभयो । जहिल्यै सत्ताभन्दा बाहिर बस्न नसक्ने, सत्ता जस्तोसुकै होस चाहिेने, उहाँले भन्नुभयो ‘उनको लागि सत्ता प्यारो छ, चाहे प्रतिक्रियावादीकै किन नहोस् ।’ कांग्रेस नभइ अगाडि बढ्न नसक्ने माओवादी आन्दोलन र हिजो लत्कार्नेहरु अहिले भिख मागिरहेको समेत उहाँले बताउनुभयो ।

एमालेले सरकार छाड्दा ढुकुटीमा ८० अर्ब मौज्दात रहेकोमा अहिले तीन खर्ब घाटामा हुनु, महँगी तीन प्रतिशतबाट ७ प्रतिशतमा पुग्नु र विदेशी मुद्रा ११ महिनालाई धान्ने रहेकोमा अहिले ६ महिनामा झर्नुले गठबन्धनको सरकार एक वर्षमै असफल भएको महासचिव पोखरेलको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी केन्द्रिय सदस्य मिथिला फुयाल, जिल्ला संयोजक रामकुमार पौडेल र मरिण गाउँपालिकाका पूर्वपार्टी अध्यक्ष गोपाल बुढाथोकीसहितका नवप्रवेशीलाई महासचिव पोखरेलले एमालेमा भित्र्याउनु भएको थियो ।