जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १२:५०

भूमि आयोगमा पाँच हजार बढी निवेदन


पाँचथर, १६ भदौ । पाँचथरमा पाँच हजार ८५ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले भूमि आयोग जिल्ला समितिमा निवेदन दिका छन् । राष्ट्रिय भूमि आयोगले प्रथम पटक प्रकाशन गरेको ३५ दिने सूचनाका आधारमा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा गरी पाँच हजार ८५ जनाको निवेदन परेको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी एक हजार सात सय ७६ र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम ३३ वटा निवेदन परेको आयोगको जिल्ला समितिले जनाएको छ । पाँचथरको याङवरकमा गाउँपालिकामा भने एउटासमेत निवेदन नपरेको समितिका सदस्यसचिव एवं नापी कार्यालयका प्रमुख उमेश नेम्वाङले जानकारी दिनुभयो ।

समितिको तथ्याङ्कअनुसार निवेदनमध्ये भूमिहीन दलितका ९० वटा, भूमिहीन सुकुम्बासीका एक सय २२ वटा र अव्यवस्थित बसोबासीका चार हजार आठ सय ७३ वटा निवेदन परेका छन् ।

निवेदन आएपश्चात जिल्लाको हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको छ । यस्तै फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले तथ्याङ्क प्रविष्टीको काम गरिरहेका छन् । हालसम्म एक हजार एक सय निवेदनको लगत प्रविष्टी भइसकेको सदस्यसचिव नेम्वाङले जानकारी दिनुभयो ।