काठमाडौं, १७ भदौ । केन्द्रमा गठबन्धनका लागि सिटको रस्साकस्सी भइरहेको बेला जिल्लाहरूबाट भने विद्रोहको धम्की आइरहेको छ । खासगरी नेपाली काँग्रेसका जिल्ला तहका नेताहरूले विद्रोहको धम्की दिन थालेका हुन् । यस्तै जिल्लागतरूपमा गठबन्धन नै नगर्ने एक्लै चुनाव लड्ने निर्णय गरेर केन्द्रलाई दरो झ्का दिने जिल्ला हो डोटी ।
डोटी गृह जिल्ला भएका काँग्रेस क्षेत्रिय सभापति बलबहादुर बलायरले डोटीमा कुनै पनि दलसँग गठबन्धन नगरी काँग्रेस एक्लै चुनाव लड्ने घोषणा गरेका छन् । उनको यो घोषणाले गाली शिरोमणीको उपाधि पाएका नेकपा (एस) का नेता प्रेम आले र माओवादीका हेभिवेट त्रिलोचन भट्टको मनमा भने ढ्याङ्ग्रो ठोक्न थालेको छ । यी दुवैजनाको गृह जिल्ला डोटी भएकाले काँग्रेसको एक्लै लड्ने निर्णयले उनीहरूको मनमा ढ्याङ्ग्रो ठोकेको हो ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा बिहीबार मात्र काँग्रेसले वीरबहादुर बलायरसहित ९ जनाको नाम सिफरिस गरेको छ भने दुई प्रदेशसभा क्षेत्रका लागिसमेत गरेर २५ जना सिफारिस भएका काँग्रेस डोटीले जनाएको छ । एकीकृत समाजवादीले भने प्रेम आलेको नाम एकल सिफारिस गरेको बताइएको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले त्रिलोचन भट्टको नाम सिफारिस गरेको जनाएको छ ।
गत स्थानीय निर्वाचनमा अन्य दलको तुलनामा काँग्रेसले धेरै राम्रो नतिजा ल्याएकाले पनि यहाँ काँग्रेस हौसिएको छ ।













प्रतिक्रिया दिनुहोस्