काठमाडौं, भदौ १७ । राष्ट्रियसभाबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ राष्ट्रिय सभाले हुबहु पारित गरेको हो।
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक( २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि प्रतिनिधि सभाले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरी सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो।
राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो। विधायन समितिले पनि बिनासंशोधन पारित गरी राष्ट्रिय सभामा पठाएपछि विधेयकमाथि छलफल सुरु भएको हो।
राष्ट्रपति भण्डारीले संघीय सदनका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक पुनरविचार गर्न भनेर १५ बुँदे सन्देशसहित फिर्ता गर्नुभएको थियो । संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु भएको थियो ।
तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो ।
संशोधन आवश्यक नदेखिएको विधेयक दुवै सदनबाट जस्ताको त्यस्तै पास गरिएको हो । संसदका दुवै सदनबाट पास भएको विधेयक अब प्रमाणीकरणका लागि पुन ः राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भए विधेयकले कानुनको रुप लिनेछ।













प्रतिक्रिया दिनुहोस्