काठमाडौं, भदौ १८ । लामो समय कोरोना विश्व महामारीको प्रभावले थलिएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कंदै छ । कोरोना संक्रमितको संख्या र मृत्युदर पनि क्रमशः घटेर अहिले दैनिक न्यून भएको र धमाधम विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै नेपालको पर्यटन बिस्तारै पुरानै लयमा फर्किन थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका छन् ।
उनीहरूले अब बिस्तारै आन्तरिक तथा बाह्य दुवै पर्यटकीय गतिविधिसँगै व्यापारिक चहलपहल पनि बढ्ने संकेत देखिएको बताएका छन् । पर्यटन व्यवसायी राजन सिंखडाले अहिले कोरोनाले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किरहेको बताउनु भयो । उहाँले हाल नेपाल भित्रिएका पर्यटक संख्यात्मक रूपमा बढे पनि अझै बढी खर्च गर्ने गुणस्तरीय पर्यटक भने अझै आइनसकेको जानकारी दिनुभयो ।
अर्थबाउन्ड ट्रेकिङ, रिभरफन रिसोर्ट, सूर्यचौर प्याराग्लाइडिङ, इको होटललगायत विभिन्न कम्पनीका सञ्चालक सिंखडाले कोरोना विश्व महामारीपछि नराम्रोसित थला परेको मुलुकको पर्यटन क्षेत्रमा हाल बिस्तारै सुधारको संकेत देखिएको बताउनु भयो । उहाँका अनुसार सन् २०२२ को प्रारम्भदेखि नै नेपाल भित्रिने पर्यटक आगमन संख्यामा सुधार देखिन थालेको हो । सन् २०२२ यो ८औं महिना –अगस्ट०मा समेत यस्तो वृद्धि कायम रहेकाले अब सुधारको संकेत देखिएको आफूहरूले महसुस गरेको सिंखडाको भनाई छ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२२ को अगस्टमा मात्र ४१ हजार ३ सय ४ जना विदेशी नागरिक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या सन् २०१९ को सोही अवधिको भन्दा ५६ प्रतिशतले बढी हो । यससँगै सन् २०२२ को जनवरीदेखि अगस्ट महिनासम्म कुल ३ लाख २६ हजार ६ य ६७ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डले अध्यागमन विभागको तथ्यांकलाई आधार बनाएर यस्तो जानकारी गराएको हो ।
बोर्डका अनुसार अगस्ट महिना नेपालमा वर्षायाम रहने भएकाले पर्यटनको समेत अफ सिजन हो । सोहीकारण सामान्यतया कम पर्यटक आउने महिना अगस्टलाई नै मानिन्छ । कोरोना महामारीअघि सन् २०१९ को अगस्ट महिनामा ७३ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा २ सय ५६ जना मात्र पर्यटक आएका थिए । तर, सोही बेलादेखि सुरु भएको कोरोना विश्व महामारीले यसअघिका झन्डै तीन वर्ष पर्यटन क्षेत्र ठप्प जस्तै भएको थियो ।
सन् २०२१ को अगस्ट महिनामा भने ५ हजार ९ सय १७ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पर्यटनमा सेप्टेम्बर महिनाबाट भने राम्रो र अनुकूल मौसम मानिन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले व्यवसायी उत्साहित छन् । कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ । विभागको तथ्यांकअनुसार अगस्ट महिनामा मात्र १६ हजार १ सय ४७ भारतीय नेपाल आएका छन् । अघिल्लो महिना (जुलाई)मा १७ हजार २ सय ९९ जना भारतीय पर्यटक आएका थिए ।
अगस्टमा अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक नेपाल आएका छन् । यो दोस्रो ठूलो संख्या हो । जुलाईमा अमेरिकाबाट ५ हजार २ सय २८ जना पर्यटक नेपाल आएका थिए । बेलायतबाट अगस्टमा २ हजार ८ सय २६, बंगलादेशबाट १ हजार ७ सय ५१ र चीनबाट १ हजार २ सय ८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित सरोकारवालाहरू एवं व्यवसायीका अनुसार वसन्त ऋतुको हिमाल आरोहणपछि वर्षकै सबैभन्दा उत्कृष्ट पर्यटकीय सिजन सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनाका लागि अहिलेदेखि नै होटलहरूमा बुकिङ बढ्दै गएको छ । पर्यटक आगमनको संख्या बढेसँगै हाल पदयात्रा तथा धार्मिक तीर्थस्थलको भ्रमणमा निस्कने पर्यटकको यात्रा बुकिङको दर पनि धमाधम बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटन गतिविधि बढाउन विगत केही दिनअघि नेपाल र्याफ्टिङ व्यवसायी एसोसियसन९ नारा०को आयोजनामा काठमाडौंको बाग्मती खोलामा सम्पन्न भएको र्याफ्टिङ पनि निकै रोचक बनेको थियो ।
विगत केही महिनाअघिदेखि नेपालका हरेक पर्यटकीय क्षेत्रमा सम्बन्धित व्यवसायी र सम्बन्धित सरोकारवाला एवं स्थानीय तहका सरकारले पर्यटकीय चहलपहल बढाउन विभिन्न महोत्सव र कार्यक्रम गर्दै देशको पर्यटकीय गतिविधि बढाउने काम गरिरहेका छन् । यस्ता गतिविधिले नै आगामी दिनमा बिस्तारै पर्यटकीय चहलपहल बढ्ने संकेत देखिएको उनीहरूको भनाइ छ । कोरोना विश्व महामारीले झन्डै तीन वर्ष धराशयी बनाएको पर्यटन क्षेत्रमा हाल देखिएको यस्तो गतिविधिले पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । यसपालि विदेशी पर्यटकको आगमन संख्या गत वर्षभन्दा निकै उच्च हुने उनीहरूको अनुमान छ ।
वसन्त ऋतुपछिको वर्षकै सबैभन्दा अनुकूल मौसम सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनामा नेपालका विभिन्न गन्तव्यको पदयात्रा भ्रमणदेखि हिमाल आरोहणको उद्देश्य लिएका केही पर्यटक अहिले नेपाल आइसकेका छन् । जसले गर्दा होटलहरूमा पनि अकुपेन्सी बढ्दै गएको छ । पदयात्रा भ्रमण र हिमाल आरोहण मात्र नभएर अन्य काम विशेषले आउने पर्यटकले पनि अहिले धमाधम होटल बुकिङ गरिरहेका छन् ।
गत वर्षको भन्दा यसपालि होटलको अकुपेन्सी र बुकिङ पनि केही बढेको होटल एसोसियसन अफ नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले यस्तो जानकारी गराएका हुन् । उनले गत वर्षभन्दा यसपालि होटल बुकिङ राम्रो हुने अनुमान गरिएको बताउनु भयो ।
सम्बन्धित व्यवसायीले जानकारी गराएअनुसार विशेषगरी शरद ऋतुका लागि विदेशी पर्यटक दसैं–तिहारको बिचमा नेपाल आउँछन् । यसभन्दा अघि सन् २०१२ मा नेपालको इतिहासमै सबैभन्दा धेरै ८ लाख ३ हजार पर्यटक नेपाल भित्रिएका थिए । यसपालि पनि अपेक्षा गरिएको भन्दा अझै बढी पर्यटक आउने आँकलन गरिएको शाहले जानकारी दिनुभयो ।
पर्यटकीय गतिविधि बढाउन सन् १९९८ मा ‘भिजिट नेपाल’, सन् २०११ ‘पर्यटन भ्रमण वर्ष’ र सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ धुमधामका साथ मनाइएको थियो । सन् १९९८ मा १० लाख पर्यटक भिœयाउने योजना थियो । तर, सोचेअनुरूप पर्यटक भित्रिएका थिएनन् । सन् २०११ मा मनाइएको ‘पर्यटन भ्रमण वर्ष’मा भने अपेक्षाकृत पर्यटक भित्रिएका थिए । त्यसपछि सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ धुमधामका साथ उद्घाटन गरिएपछि सुरु भएको कोरोना विश्व महामारीका कारण सो भ्रमण वर्षका सबै कार्यक्रम रोकिएको थियो ।
अहिले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नै आगामी सन् २०३२ सम्मको अवधिलाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ । सरकारको सोही घोषणा कार्यान्वयनका लागि अहिले विभिन्न सरोकारवालाहरू एवं निजी क्षेत्रबाट सक्दो प्रयास भइरहेको छ । नेपालको पदयात्रा भ्रमणको राम्रो मौसम शरद ऋतुमा विशेषगरी नेपालमा अमेरीकन, अस्ट्रेलियन तथा क्यानडियन अन्य युरोपियन, जापानिज र भारतीय पर्यटक पदयात्रा तथा धार्मिक भ्रमणमा आउने गर्छन् ।
दुई छिमेकी मुलुकहरू चिनियाँ तथा भारतीय पर्यटक भने वर्षको हरेक समयमा नै आउने गर्छन् । जसका कारण पर्यटन व्यवसायीहरूले आन्तरिक तथा भारतीय पर्यटकलाई वर्षकै सदाबहार पर्यटकका रूपमा लिने गरेका छन् । पछिल्लो समय चिनियाँ पर्यटकको संख्या निकै बढ्दै गएका छन् ।













प्रतिक्रिया दिनुहोस्