जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १३:२९

मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया


मुगु १९ भदौ । मुगुमा पहिलोपटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताउनुभयो ।

उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनीता वली र सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले रोकायाको पाठेघरको शल्यक्रिया गरेको उहाँले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको र पछिल्लो समय मुगुका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएको छैन ।

विगतमा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लँदै आएका छन् ।