जनता टाइम्स

२० भाद्र २०७९, सोमबार ११:२७

माओवादीबाट विजयी गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी


परासी, २० भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता ‘दिपक’लाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

लागूऔषध मुद्दामा दुई भारतीय नागरिकलाई नियतवश फसाइएको भन्ने मुद्दामा थप अनुसन्धानका लागि गुप्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

लागूऔषध मुद्दामा गुप्तालाई पक्राउ गरेर अनुसन्धान गनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेपछि गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत नवलपरासीका स्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

असार २२ गते जिल्लाको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो ।पक्राउ परेका दुवै जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ ।

पक्राउ पुर्जी जारी भएका गुप्ता १० दिनदेखि कार्यालयमा नआएको र उहाँको खोजीकार्य भैरहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख ऋषीराम कडेलले बताउनुभयो । गुप्ता दोस्रो पटक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।