जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार ०७:२९

इन्द्रजात्रामा राष्ट्रपतिको सन्देश : मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्:


काठमाडौं, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताउनुभएको छ ।

कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले इन्द्रजात्रा पर्वले प्रकृति र मानव समाज बीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने गरेको बताइन्। उनले सन्देशमा शताब्दियौँदेखि प्रचलनमा रहेका मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने कुरा उल्लेख गर्नुभयो ।

उहाँले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा आपसी सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ गरी आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली मौलिक चाडपर्वले जातीय, भाषिक, सांस्कृतिक विविधता युक्त नेपाली समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ । उहाँले धर्म संस्कृति, चाडपर्वको संरक्षण र संवर्द्धन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ ।