जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १८:४५

दलित बस्तीमा विद्यालय बनाइदिन्छु : ओली


जनकपुर, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने घोषणा गर्नुभएको छ । आज जनकपुरमा आयोजित नेपाल बौद्धिक परिषद् मधेस प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो उद्घोष गर्नुभएको हो ।

मधेस क्षेत्र आफैँमा ज्ञानको गहिरो ज्योति भएको ठाउँ रहेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको उहाँले त्यस क्षेत्रका जनताहरू अझै अशिक्षित हुनु बिल्कुलै नसुहाउने भन्दै विद्यालय बनाउने बताउनुभयो ।

‘ज्ञानको गहिरो ज्योति छरिएको यो भूमिका ८० प्रतिशत जनता आज अशिक्षित छन् । सुहाउने कुरा हो ? बिल्कुल सुहाउँदैन’, उहाँले भन्नुभयो, ‘दलित बस्ती र त्यसको आसपासमा तपाईँहरूलाई आवश्यक पर्छ भने एउटा आधारभूत विद्यालय म बनाइदिन्छु ।’ उहाँले मधेस ज्ञान, ध्यान, तपोवन तथा देवभूमि भएको भन्दै यस भूमि आज यसरी पिछडिएको हुनु शोभा नहुने बताउनुभयो ।