जनता टाइम्स

२८ भाद्र २०७९, मंगलवार ११:३०

एमाले अध्यक्षओली र चिनियाँ नेता लीबीच भेटवार्ता, यस्तो भयो कुराकानी


काठमाडौं, भदौ २८ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । भेटवार्तामा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुग्नुभएको हो । हिजो सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले आज भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।

kp-chines

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।