काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस–आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने छन् ।
देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको परियारले बताउनुभयो । उक्त नाम क्लस्टर अनुसार छुट्याएर भोलिको बैठकमा पेस गरिने उहाँको भनाइ छ । कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।
निर्वाचन आयोगमा २ र ३ असोजभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने छ । आदिवासी जनजाति ३२ जना, खसआर्य ३४, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची बुझाउनुपर्ने हो ।













प्रतिक्रिया दिनुहोस्