जनता टाइम्स

२ आश्विन २०७९, आईतवार १५:२९

लोकतन्त्र मास्ने अभ्याशमा देउवा सरकार : प्रधानन्यायाधीशलाई सरकारी निवासमै बनाइयो अघोषित बन्धक


काठमाडौं, असोज २ । पाँच दलीय गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई उहाँको निजी निवासमा नै अघोषित रूपमा बन्धक बनाएको छ ।

लोकतन्त्र भनेको आफ्नो अपराधकर्मसँगै सधै सरकारी ढुकुटीमा राज भन्ने बुझेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आज अदालत फर्कने भनेपछि प्रधानन्यायाधीशलाई निवासमै बन्धक बनाएको हो ।

आइतबार सर्वोच्च अदालत जान तयार हुनुभएका प्रधानन्यायाधीश जबरालाई उहाँको निवास बाहिर प्रहरी परिचालन गरी भित्रै बन्धक बनाइएको छ । गेटको बाहिर प्रहरी परिचालन गरिएको कारण प्रधानन्यायाधीश जबरा बाहिर निस्कन पाउनुभएको छैन ।

प्रतिनिधि सभामा महाभियोगको सामना गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रको महाभियोगको अन्तिम टुङ्गो नलाग्दै प्रतिनिधि सभाको यो कार्यकालको म्याद शनिबार रातिबाट सकिएको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै आफू माथि लागेको महाभियोग निष्क्रिय भएको जबराको भनाई छ ।

त्यसैले आइतबारबाट काममा फर्कने जानकारी उहाँले सर्वोच्च अदालत प्रशासनलाई गराउनुभएको थियो । उहाँले सो सूचना दिए लगत्तै प्रधानन्यायाधीशलाई अदालत जान नदिने रणनीतिमा गठबन्धन सरकार उत्रिएको छ । उहाँलाई अदालत जानबाट रोक्न निवासमा नै अघोषित बन्दी बनाइएको छ ।

प्रधानन्यायाधीश निवास बाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँको निवासमा छिर्ने र बाहिरिने सबै गाडीलाई चेकजाँच गरेर मात्र छाडिएको छ । सरकारले प्रहरीलाई अदालतमा उहाँलाई प्रवेश नदिन निर्देशन दिई लोकतन्त्र होइन, जंगली शासनको सुरुवात गरेको छ ।