काठमाडौं, असोज ७ । निर्वाचन अयोगले अर्थसचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले आज अर्थसचिव पुस्करलाई स्पष्टीकरण सोधेको हो ।
‘अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायमा के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जारी गरेको विज्ञप्तिमा निर्वाचनको मिति तोकिसकेपछि निर्वाचन कार्यक्रम कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रमसमेत तयार गरी अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत निश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्