एजेन्सी, ९ असोज । उत्तराखण्डमा अंकिता भण्डारी हत्या प्रकरणले निकै बबाल मच्चाएको छ । जनताको आक्रोश सडकमा पोखिएको छ । आक्रोशित जनताले बद्रीनाथ राजमार्ग अवरुद्ध गरेका छन् । अंकिताको शवको आइतबार दाहसंस्कार गरिने बताइएको छ । तर, अहिलेसम्म परिवार यस विषयमा तयार भएको देखिँदैन ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले अंकिताका बुवासँग फोनमा कुरा गरेका थिए । उनले सरकारबाट कारबाही गर्ने आश्वासन दिए । यसपछि परिवारमा अन्तिम संस्कारको तयारी भएको चर्चा चल्यो तर पछि कुरा बिग्रियो । पोष्टमार्टमको अन्तिम रिपोर्ट आएपछि मात्रै शव लैजाने आफन्तले बताएका छन् ।
अंकिताका परिवारका सदस्यहरूसँग सार्वजनिक समर्थन पनि देखिन्छ। घटनाको विरोधमा आक्रोशित मानिसहरूले हाइवे अवरुद्ध गरेका छन्। मानिसहरू हातमा प्लेकार्ड लिएर देखिएका छन् । जसमा अंकिताका लागि न्यायको नारा देखिन्छ ।
सोही क्रममा ‘अङ्किता हामीलाई लज्जा लाग्छ, तिम्रो हत्यारा जिउँदै छ’ भन्ने प्लेकार्डमा लेखिएको थियो ।
अंकिताको अन्त्येष्टिमा राखिएको शर्त
अंकिता भण्डारीको अन्त्येष्टिको सन्दर्भमा मानिसहरूले ऋषिकेश एम्सबाट अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म अंकिता भण्डारीको शव दाहसंस्कार गर्न नदिने शर्त राखेका छन् ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले अंकिताका आफन्तसँगको कुराकानीपछि अन्तिम संस्कारका लागि परिवार सहमत भएको विश्वास गरिएको थियो । मुख्यमन्त्री धामीले घटनाका दोषीलाई कारबाही गर्ने बताएका थिए ।
मुख्यमन्त्रीले मृतकका बाबुलाई निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने आश्वासन दिए। तर, यस्तो घटना सार्वजनिक भएपछि आक्रोशित जनताले बद्रीनाथ राजमार्ग अवरुद्ध गरेका छन् । अंकिताको अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म अन्तिम संस्कार नहुने मानिसहरूले स्पष्ट पारेका छन् ।
अंकिताको शव ६ दिनपछि फेला परेको थियो
अंकिता गत सेप्टेम्बर १८ मा यमकेश्वरस्थित गेस्ट हाउसबाट रहस्यमय रूपमा बेपत्ता भएकी थिइन् । रिसोर्टका सञ्चालक पुलकित आर्यले हराएको उजुरी दिएका थिए । घटनाको अनुसन्धान सुरु भएसँगै यस घटनामा रिसोर्टका मालिक र दुई जना व्यवस्थापकको संलग्नता खुलेको छ ।
शुक्रबार तीनै जनालाई पक्राउ गरेपछि मुद्दा चलाइएको हो । अंकितालाई चिला नहरमा धकेलिएको खुलासा भएको छ । त्यसको ६ दिनपछि २४ सेप्टेम्बरको बिहान चिला नहरबाट अंकिताको शव फेला परेको थियो । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा अंकितको शरीरमा चोटपटक र पानीमा डुबेर निसासिएर मृत्यु भएको खुलेको छ ।
सीसीटीभी फुटेज पनि बाहिर आएको छ
घटनाअघिको सीसीटीभी फुटेज पनि यस मामिलामा सार्वजनिक भएको छ । जसमा अंकिता मोटरसाइकल छोडेर हिडेकी देखिन्छिन् । उनीसँगै पुलकित आर्य पनि देखिएका छन् ।
यो सीसीटीभी फुटेज चिला पावर हाउसको रहेको बताइएको छ । यो सीसीटीभी फुटेज बाहिर आएपछि भाजपाका निष्कासित नेता विनोद आर्यका छोरा पुलकित आर्यको संलग्नता स्पष्ट भएको छ ।
शनिबार मुद्दा खुलेपछि पार्टीबाट निकालिएका विनोद आर्यले छोरा निर्दोष भएको दाबी गरेका थिए । अब उनीहरुको दावीको सत्यता बाहिर आएको देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्