बुटवल, १५ असोज । सत्तारुढ गठबन्धनबीच भागवण्डा मिलेको दावी गरिहँदा देशभर विभिन्न प्रतिक्रिया आएका छन् । यस्तै प्रतिक्रिया प्युठानका कांग्रेस नेता प्रा. डा. गोविन्द पोखरेलले सार्वजनिक गर्नुभएको छ । पूर्व योजना आयोगका उपाध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य पोखरेलले आफूले प्युठानमा गठबन्धनको पक्षमा भोट नमाग्ने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको हो ।
२०७४ को चुनावमा वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग आफू पराजित भएको स्मरण गर्दै पोखरेलले लेख्नु भएको छ – ‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु,नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु ।’
गठबन्धनबाट फेरि दुर्गा पौडेल नै उम्मेदवार हुने चर्चा चलेसँगै पोखरेलले यस्तो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । ‘शुभेच्छुकहरुको प्रस्तावप्रति पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु,’ उहाँले लेख्नुभएको छ ।
नेकपा (एमाले) ले प्युठानमा सुर्य थापालाई टिकट दिने चर्चा चलेको छ । स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् । स्थानीय चुनावपछि एमालेले विभिन्न पार्टीबाट पाँच हजार जनालाई एमालेमा प्रवेश गराएको दाबी गरेको छ ।
पोखरेल पार्टीभित्र शेखर कोइराला पक्षका हुन् । कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट भएको अवस्थामा गठबन्धनकी दुर्गा पराजित हुने गलभग पक्का भएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्