खोटाङ, २३ असोज । नेपाली काँग्रेस खोटाङले गठबन्धन नमान्ने भएको छ । गठबन्धनको भागवण्डामा प्रदेश सभाको एक सिट मात्र पाएको काँग्रेसले अन्ततोगत्वा सबै सिटमा उम्मेदवारी दिने भएको हो । काँग्रेसको जिल्ला पार्टी कार्यालयमा बैठक बसेर यस्तो निर्णय आएको हो ।
काँग्रेसले प्रतिनिधि सभामा सर्वधन राईलाई उम्मेदवार बनाएको छ । यस्तै पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल प्रदेश क मा र पूर्व उपसभापति धर्मराज पोखरेललाई प्रदेश ख मा उम्मेद्वार बनाउने निर्णय भएको कांग्रेस जिल्ला पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।
गठबन्धनमा कांग्रेसले खोटाङमा प्रदेश ख मा मात्रै टिकट पाएको थियो। जसमा प्रदेश १ का कांग्रेस महामन्त्री भूपेन्द्र राईलाई टिकट दिएको छ। राईले यसअघि गठबन्धनसहित पुगेर उम्मेदवारी दर्ता गराइसक्नु भएको छ। गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीका रामकुमार राई, प्रदेश क मा एकीकृत समाजवादीका बीरबलकाजी राई र प्रदेश ख मा भूपेन्द्रले उम्मेदवारी दिनु भएको हो ।
एमालेबाट भने प्रतिनिधिसभामा विशाल भट्टराई, प्रदेश क मा पाँचकर्ण राई र प्रदेश ख मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्