जनता टाइम्स

२५ आश्विन २०७९, मंगलवार १२:५२

यसरी तोडियो मधेशमा एमालेमाथि ठूलै घात गर्ने प्रभु साहको चक्रब्यूँह


काठमाडौं, असोज २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले सिंगो जिल्ला र मधेश प्रदेशमै नेकपा एमालेलार्ई उम्मेदवारबिहिन बनाउने गरी सत्ता गठबन्धन र छिमेकी शक्तिसँग मिलेर योजना बनाएको तथ्य खुलेको छ ।

साहले पार्टीलाई मधेस प्रदेशमै उम्मेदवारबिहीन बनाएर बिदेशी शक्ति खुसी पार्ने योजना बनाएको तथ्य उजागर भएपछि उहाँका लागि पार्टीमा फर्किने ढोका सदाका लागि बन्द भएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको मनोनयन क्रममा साहले एमालेबाट रौतहट ३ का लागि टिकट पाउनु भएको थियो भने अन्य उम्मेदवारको टिकट पनि आफै लिएर जानुभएको थियो । तर अन्तिम समयसम्म उहाँ सम्पर्कबिहीन बनेर पार्टीका उम्मेदवारलाई मनोनयन नै गर्न नदिने योजनामा रहनुभएको थियो ।

उहाँले टिकट नदिने जानकारी पाएपछि अर्काे पत्र बनाएर रौतहटका अन्य क्षेत्रमा उम्मेदवारी मनोनयन गरिएको थियो । उहाँले मधेश प्रदेशका सवैटिक आफूले लिएर जाने प्रस्तावसमेत अध्यक्ष केपी शर्मा ओलीसँग राख्नुभएको थियो । मधेशका सवै जिल्लामा एमालेलाई उम्मेदवारबिहीन बनाउने योजनासहित साहले अध्यक्ष ओलीसँग मधेश प्रदेशका सवै टिकट लिएर जाने प्रस्ताव गरे पनि ओलीले अस्वीकार गर्नुभएको थियो ।

मनोनयनको दिन असोज २३ गते आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी साहले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएका थियो । तर अन्तिम घडीमा उहाँले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गर्नुभएको छ । साहले मधेश प्रदेशकै सवै टिकट आफै लिएर जाने कुरा किन रहेछ भन्ने तथ्य सोही दिन खुलेको हो ।

अध्यक्ष ओलीले साहको यो तल्लो स्तरको कामलाई ‘संदिग्ध गतिविधि’ र अपराधको संज्ञा दिनुभएको छ । दलको उम्मेदवारी पन्छाएर स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीको सदस्यताबारे स्वतः प्रश्न उठ्ने उहाँले बताउनु भयो । ‘उहाँ केही समयदेखि संदिग्ध गतिविधिमा हुनुहुन्छ भनी साथीहरुले भन्दैहुनुहुन्थ्यो, मैले पत्याएको थिइनँ,’ ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, ‘उहाँले स्वतन्त्र रहन्छु, दलबाट बाहिर रहन्छु भनेपछि त्यो स्थिति उत्पन्न हुने नै भयो ।’

ओलीको यही जवाफबाट स्थायी कमिटी सदस्य साह एमालेमा रहने अवस्था सकिएको छ ।साहले आफूसहित मधेसका थुप्रै निर्वाचन क्षेत्रबाट आफू पक्षका कार्यकर्तालाई स्वतन्त्र हैसियतमा उम्मेदवारी दिन लगाउनु भएको छ ।

तत्कालीन नेकपाबाट एमाले र माओवादी केन्द्र अलग हुँदा साहले एमाले रोज्नुभएको थियो । तर लामो समय उहाँ पार्टी नेता रहँदा पनि सम्पर्क बाहिर हुनुभएको थियो । अध्यक्ष ओलीले नै सम्झाएपछि उहाँ पार्टी काममा फर्कनु भएको थियो । तर साहको संन्दिग्ध गतिबिधि भने रोकिएको थिएन । सोही कारण मधेशमा एमालेलाई ठूलै घात गर्ने साहको योजनासहित उम्मेदवारीको टिकट लिएर बेपत्ता हुनुभएको हो ।

साहले रौतहट ३ बाट उम्मेदवारी दिँदै गर्दा किरण साह रौतहट २ बाट, प्रदीप साह रौतहट ४ बाट, राम आधार कापड महोत्तरी ३ बाट, मानबहादुर खडका सर्लाही १ बाट, किसोरी साह धनुषा १ बाट, कृष्ण कुमार महतो, धनुषा ४ बाट, संतोष श्रेष्ठ पर्सा १ बाट उम्मेदवारी दिन लगाएको तथ्य खुलिसकेको छ । प्रदेश सभातर्फ पनि साहले १७ जनालाई उम्मेदवार बनाउनु भएको छ । साहले रौतहटसहित मधेसलाई नै एमालेविहीन बनाउने षड्यन्त्र गरेको अध्यक्ष ओलीले बताउनु भएको छ ।