ओखलढुंगा, असोज २५ । ओखलढुंगामा नेकपा एकीकृत समाजवादीका युवा नेताहरू नेकपा एमालेमा फर्किएका छन् । युवा नेता राजन खत्री र मनोज मगरसहित एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेताहरू एमालेको पूर्ववत् जिम्मेवारीमा फर्किएको एमाले जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिनुभयो ।
नेकपा एमालेले एक कार्यक्रम गरी मंगलबार खत्री र मगरसहितका नेतालाई स्वागत गरेको छ । एमालेको जिम्मेवारीमा फर्किएका नेता राजन खत्रीले नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेको संकटको वेलामा सबैभन्दा बढी लडेर पार्टीलाई बलियो बनाएका योद्धाहरू हामी हौँ । हिजो संकटमा रगत–पसिना बगाएको पार्टीमा पुनः फर्किएका छौँ, फेरि एमालेलाई उत्तिकै बलियो बनाउन लाग्छौँ ।’
नेता खत्री एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो भने मगर युवाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज सुनुवारसहितका नेताले स्वागत गर्नुभएको छ । उहाँहरुले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका सवै नेताहरु कांग्रेसको भरिया बनेको कारण एमालेमै फर्किएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्