जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १९:३४

गैरआवासीय नेपालीलाई नागरिकता, गैर नेपालीलाई असंभव : केपी ओली


काठमाडौं, असोज २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको सवालमा राजनीति नगर्न चेतावनी दिनुभएको छ । एमालेका अध्यक्ष ओलीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई देशभित्रै अल्पसंख्यक बनाउँने प्रयासमा एमाले सधैं बाधक बनिरहने घोषणा पनि गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघको साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले विदेशीलाई नागरिकता दिन पाइएन भनेर सत्ता गठबन्धनका मान्छेहरुले एकस्वरमा एमालेको विरोध गरिरहेको बताउनु भयो ।

‘हामीले यसअघि नै नागरिकता दिने नाममा अन्यथा भइसकेको छ । आज कतिपय ठाउँहरुमा भोट माग्ने बेला सीमापारीका गाउँमा जानुपर्ने अवस्था छ । किनकी मतदाता उतातिर छन् । हामी डेमोग्राफिक चेन्जमार्फत माइनोरिटीमा जान चाहान्नौं । नेपाल नेपालीले चलाउँछन्,वास्तविक नेपालीलाई नागरिकताबाट बञ्चित गर्न सक्दैनौं,’ अ‍ोलीले भन्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धनका नेताहरूले नागरिकताको नाममा राजनीति गर्न खोजेको पनि बताउनुभयो । ठुलो जनसङ्ख्या भएको छिमेकीसँग लामो खुल्ला सिमाना भएको नेपालका लागि जनसाङ्खीक सजगता हुन जरुरी रहेको उहाँले बताउनुभयो । ‘विदेशीलाई नागरिकता दिने कुरामा हामी सजग छौँ, किन भने हाम्रो बोडर समेत खुल्ला छ, पटक पटक नेपालीलाई नागरिकता दिने नाममा अन्यथा भएको छ’, ओलीले भन्नुभयो ।

नागरिकताको प्रमाणपत्र कुनै पनि गैरनागरिकलाई दिन नसकिने र कुनै पनि नागरिकलाई गैरनागरिक बनाउन नसकिने ओलीले बताउनुभयो । गैरआवासीय नेपालीले नेपाली भएकै कारण नागरिकता मागेको र त्यो स्वाभाविक भएको उहाँले प्रष्ट पार्नुभयो । नागरिकता वितरण गर्ने कुरा नभएर नागरिकलाई प्रदान गर्ने कुरा भएको ओलीले बताउनुभयो । ‘गैर नागरिकलाई नागरिकता दिने कुरा होइन, नागरिकलाई नागरिकता दिनु पर्छ, जो राज्यको दायित्व हो’, उहाँले भन्नुभयो ।

nrna-

अहिले गैर नेपालीलाई नागरिकता दिन पाइएन भन्ने रुवावासी रहेको बताउँदै ओलीले त्यस कुरामा एमाले सजग रहेको बताउनुभयो । गैरनेपालीलाई नागरिकता नागरिकता दिएर आफ्नै देशमा अल्पमतमा पर्ने कुरा एमालेलाई स्वीकार्य नभएको उहाँले प्रष्ट पार्नुभयो ।

नागरिकताको प्रश्नमा नेपाल जस्तो लचक मुलुक अन्यत्र नभएको उहाँले बताउनुभयो । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘नेपाली नागरिकलाई नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने छ’, ओलीले भन्नुभयो ।