जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १६:३७

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर


काठमाडौं, २९ असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ । २३ औ दिन देखि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना हुनुभएको जोशीको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको छ ।

उमेर धेरै भएका कारण उहाँमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उहाँमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।