काठमाडौं, असोज ३१ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको (चिना) जन्मकुण्डली जलाइएको छ । आइतबार महाप्रस्थान गर्नुभएका शताब्दी पुरुष जोशीको शव किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई जिम्मा लगाएर जन्मकुण्डली जलाइएकाे हाे ।
पिताकै इच्छाअनुसार छोराहरु अनुराज र डा. पूर्णराज जोशीले आइतबार साँझ वाग्मती घाटमा जोशीको जन्मकुण्डली जलाउनुभएकाे हाे । शरीर दान गरिसकेकाले स्व. जोशीको अन्तिम संस्कारकाे काम सम्पन्न गर्न जन्मकुण्डली जलाए पनि हुने पुरोहितकाे सुझावअनुसार जन्मकुण्डली जलाइएको परिवारले जनाएकाे छ ।
जोशीको पार्थिव शरीर उहाँकै इच्छाअनुसार अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई दान दिइएको छ । जाेशीकाे १ सय ३ वर्षकाे उमेर आइतबार बिहान किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएकाे थियाे ।
जाेशीले मृत्युपछि आफ्नो शरीर किष्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय आफ्नो जीवनकालमै गर्नुभएकाे थियाे ।
जाेशीकाे पार्थिव शरीरलाई आइतबार अपरान्हसम्म ललितपुर महानगरपालिकामा श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि अस्पताललाई हस्तान्तरण गरिएको हो । जाेशीलाई प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्