जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १०:१३

बढ्यो शहरी क्षेत्रको जनसंख्या


काठमाडौं, असोज ३१ । नेपालको शहरी क्षेत्रको जनसंख्या बढेकाे छ । नेपालको शहरी क्षेत्रको जनसंख्या बढेर ६६ दशमलव ८ प्रतिशत पुगेको हाे ।

जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणाम भन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जानकारी दिनुभयो ।

०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३ दशमलव १९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६ दशमलव ८१ प्रतिशत थियो ।संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा साे प्रतिवेदन सार्वजनिक गरिएकाे हाे । विकसित देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्छन् । यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसंख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ ।