काठमाडौं, ४ कार्तिक । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्बोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको हो । वैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।
त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रवार दुवै पक्षको वहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको छ । सर्बोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहनुभएन ।
गठबन्धनका साझा उम्मेदवारलगायत अन्य दुई जनाको उम्मेदवारी खारेज भएका कारण नेकपा (एमाले) का उपाध्यक्ष तथा सो पार्टीका उम्मेदवार विष्णु पौडेल अब सो क्षेत्रमा लगभग प्रतिस्पर्धिविहीन हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवारलगायत सो क्षेत्रमा चर्चा कमाएका अन्य उम्मेदवारको यस अघि नै निर्वाचन अधिकृतले उम्मेदवार िखारेज गरेकाले उपाध्यक्ष पौडेल निर्विकल्प हुनुभएको हो ।















प्रतिक्रिया दिनुहोस्