जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार ०५:१४

हजुरआमा र कार्कीको हत्यारालाई देउवा सरकारले गर्यो कैद मिनाहा, छुटेको डेढ महिना नबित्दै अर्को हत्या


चितवन, कात्तिक १३ । आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका तर ७९ सालको संविधान दिवसमा सरकारबाट आममाफी पाएर छुटेका एक व्यक्तिलाई अर्को हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नवलपुर गैंडाकोट नगरपालिका टोलटोले निवासी ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले माडीका युवकको हत्या आरोपमा पक्राउ गरेको हो । शुक्रवार राति माडीमा मृत भेटिएका युवकको हत्या उनै कुमालले गरेको चितवन प्रहरीले बताएको छ ।

कुमाललाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले असल चालचलन भन्दै यसै बर्षको संबिधान दिवसको अवसरमा आममाफी दिएको थियो । उनै कुमालले एक महिना नबित्दै अर्काे हत्या गरेका हुन । शुक्रवार राति माडी नगरपालिका–४ शितलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपाली मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर घाउ चोट थियो । आडैमा धारिलो हतियार खुकुरी पनि भेटिएको थियो ।

जीवनको हत्या भएको आशंकामा प्रहरीले खोजतलास गर्दा शनिबार बिहान सवा ५ बजेतिर माडी–३ बाट सुरेशबहादुर कुमाललाई नियन्त्रणमा लिएको हो । नवलपरासी र नवलपुर गैंडाकोट नगरपालिका टोलटोले घर भएका ३४ वर्षीय सुरेश आफ्नै हजुरआमा र काकीलाई हत्या गरेको अभियोगमा पक्राउ परी १० वर्षअघि नवलपरासी जिल्ला अदालतले सर्बश्वसहित जन्मकैदको सजाय सुनाएको व्यक्ति भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो ।

डीएसपी अधिकारीका अनुसार ०७९ सालको संविधान दिवसको अवसरमा आममाफी पाएर सुरेश कैदमुक्त भएका थिए । भिमफेदी कारागारमा रहेका उनी कैदमुक्त भएपछि माडी गएर २ महिनादेखि जीवन नेपालीको घरमा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

तिनै जीवन नेपालीलाई घरमा कोही नभएको मौका पारेर सुरेशले खुकुरी प्रहर गरी हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यसपछि उनी जीवनको घरदेखि ५० मिटर पर रहेको रूपा नेपालीको घरमा छिरेको प्रहरीले जनाएको छ । साथै उनले रूपाले कानमा लगाएको सुनको गहना पनि कानको लोती नै च्यातिने गरी तानेका थिए । रूपाको घाँटी थिचेर मर्यो भन्ने ठानेपछि उनी भाग्दै माडी–३ बसन्तपुर बजार नजिक भित्री सडकमा लुकेका बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।

संविधान दिवसको दिनमा सरकारको निर्णयमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने चलन छ । यस वर्षको असोज ३ गते देउवा सरकारको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा गर्नुभएको थियो ।

यी ६८१ जना मध्येका एक हुन नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल । संयोग नै भन्नुपर्छ दस वर्षपछिको हत्याको मिति पनि कात्तिक ११ नै पर्यो । देउवा सरकारले कैद मिनाह नगरेको भए यो घटना हुने थिएन ।

आफ्नै हजुरआमा र कार्कीको हत्या गरेर जेल परेका कारण परिवारका अन्य सदस्यहरूसँग सुरेशको राम्रो सम्बन्ध नभएको र जेलमा साथी बनेका जीवनले काम लगाइदेलान् भनेर सिधै माडी गएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।