जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १०:२३

प्रचण्ड ज्यानमारा हुन : रवीन्द्र मिश्र


काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डलाई यस्तो संज्ञा दिनुभएको हो । उहाँले प्रचण्डले चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप पनि लगाउनु भयो । मिश्रले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने रु संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस,” मिश्रले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभएको थियो ।