भोजपुर, १३ कात्तिक । प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा भएका कामको श्वेतपत्र सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर आज श्वेत पत्र सार्वजनिक गर्नुभएको हो ।
भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गर्दै राईले तीन वर्ष ६ महीना ७ दिन आफू मुख्यमन्त्री रहँदा गृह जिल्ला भोजपुरमा गरेका विकास निर्माणका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताउनुभएको छ ।
श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । नेता राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेशसभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्