जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १२:०९

डेंगीबाट प्रदेश १ का वनमन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवार थापाको निधन


मोरङ, कात्तिक २३ । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगीबाट स‌ंक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो ।

उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।

२५ दिन काठमाडौंमा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उहाँलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो ।

उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुनुहुन्थ्यो ।

गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गर्नुभएका थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित हुनुभएको थियो । यस पटक उहाँलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा।सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार हुनुहुन्छ ।